तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा जेठ मसान्तसम्म निषेधाज्ञा थप

कञ्चनपुर । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा यही वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः थप गरी यही जेठ मसान्तसम्म कायम गरिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार दिउँसो बसेको बैठकबाट गरिएका निर्णयको आधारमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अधिकार प्रयोग गरी यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार, स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी पसल व्यवसाय साबिकको जस्तै र खाद्य वस्तुका पसल व्यवसाय हरेक आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ भने सोही समयमा मात्रै तरकारी तथा फलफूलको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी घुम्ती पसल सञ्चालन गर्न सकिने छ ।
यी बाहेकका अन्य कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाहरू भने आइतबार र बुधवारका दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ । यद्यपि राजश्व तथा सरकारी कारोबार, एटिएम तथा विद्युतीय सेवा बैङ्क तथा वित्तीय संस्थाहरूको नियमानुसार सञ्चालन गर्न सकिने छ ।
नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूको हकमा कार्यालयबाट जारी भएको परिचय पत्रका आधारमा आवतजावत गर्न सकिने छ भने सञ्चारकर्मीहरूको हकमा पत्रकार महासङ्घको सिफारिसमा जिल्ला प्रशासनले जारी गरेका पास वा सूचना तथा प्रसारण विभागबाट जारी भएको पत्रकार परिचय पत्रको आधारमा आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ । अत्यावश्यक मालसामान ढुवानीका साधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारीबाट आदेश जारी भएको छ । राष्ट्रिय गौरवका आयोजनाको हकमा निर्माण सामग्री, उपकरण र कामदार निर्माण स्थलमा नै राखी निर्माण कार्य गर्ने र यस बाहेकका अन्य सबै निर्माण कार्य स्थगन गर्ने आदेशमा उल्लेख छ ।
कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा समेत हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । यद्यपि विवाह तथा व्रतबन्धका लागि होटेल तथा पार्टी प्यालेस प्रयोग गर्न नपाइने प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो ।
अत्यावश्यक कामले नेपाल प्रवेश गर्न चाहने व्यक्तिहरूका लागि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी र दक्षिणी नाका गौरीफण्टाबाट मात्रै निर्धारित मापदण्ड पूरा गरी आवागमन सकिने तर अन्य खुला सिमानाको जुनसुकै बिन्दुबाट आवागमन नगर्न आदेश दिइएको छ । यसका अतिरिक्त बजारमा सामानको कृत्रिम अभाव, कालो बजारी, मूल्य वृद्धि जस्ता गैर कानुनी कार्य गर्ने जो कोहीलाई कडा कारबाही गरी सार्वजनिक गरिने चेतावनी दिइएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button