तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा संक्रमित खोज्दै शिविर आयोजना 

पर्वत । पर्वत सदरमुकाम कुस्मा बजारमा कोरोना संक्रमण कम भए पनि गाउँघरमा फैलिन थालेपछि स्थानीय तहले गाउँ केन्द्रित भएर स्वाब सङ्कलन शिविर चलाउन थालेका छन् ।
बजार क्षेत्रमा निषेधाज्ञाका कारण संक्रमण फैलिन पाएको छैन भने गाउँमा स्वास्थ्यका मापदण्ड पालना नहुँदा संक्रमण बढी देखिएको छ । त्यसैले स्थानीय तहहरूले गाउँ गाउँमा शिविर गरेर संक्रमित पत्ता लगाउन थालेका हुन् ।
कुस्मा नगरपालिकाले १४ वटै वडामा शिविर सञ्चालन गरिरहेको छ ।
जलजला गाउँपालिकाले आजबाट जेठ २६ गतेसम्म वडैपिच्छे स्वाब सङ्कलन शिविर सञ्चालन गर्दै छ ।
फलेवास नगरपालिकाले अस्थायी कोरोना अस्पतालमा दैनिक रुपमा कोरोना परिक्षण शिविर सञ्चालन गर्दै आएको छ । अन्य स्थानीय तहले पनि आवश्यकताका आधारमा कोरोना परिक्षण गर्दै आएको बताएका छन् ।
संक्रमण परीक्षणको नतिजामा धेरैजसो ग्रामीण क्षेत्रका मानिसहरू संक्रमित हुने गरेको देखिएको छ ।
अहिलेसम्म मृत्यु हुनेमा जलजला गाउँपालिका र कुस्मा नगरपालिकाका धेरै रहेका छन् ।
बजारमा बसोबास गर्दै आएकाहरू लकडाउनको अवधिमा गाउँ फर्किएका कारण बजारको भिड गाउँमा सर्दा बजार जस्तै गाउँ पनि जोखिममा रहेको फलेवास नगरपालिकाका स्वास्थ्य संयोजक रुद्रप्रसाद शर्माले बताउनुभयो ।
पर्वतमा अहिलेसम्म दोस्रो लहरको कोरोना सङ्क्रमणमुक्त हुनेमा ३ सय ५ जना पुरुष र २ सय ४३ महिला गरी कुल ५ सय ४८ जना रहेका छन् ।
जिल्लाभर सक्रिय संक्रमित ६ सय ९२ जना रहेका छन् । कुस्मा नगरपालिकामा सबैभन्दा बढी २ सय ६ जना संक्रमित रहेका छन् भने सबैभन्दा कम पैयुँ गाउँपालिकामा २४ जना रहेका छन् ।
अहिले ७८ जना अस्पतालमा उपचाररत भएको र अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पर्वतमा अहिलेसम्म १ हजार ८ सय ४२ जनाको पीसीआर र २ हजार ९ सय २४ जनाको एण्टिजेन विधिबाट कोरोना संक्रमण परिक्षण गरिएको छ ।
पर्वतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने ४४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button