तपाईँ सुन्दै हुनुहुन्छः

ल्यान्डिङ बेरुजु बुझाउन हेलिकप्टर कम्पनीलाई निकुञ्जको ताकेता

फाइल फोटो : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र ।
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र हेलिकप्टर ल्यान्डिङ गरेबापत दुई आर्थिक वर्षदेखिको करिब सवा करोड बेरुजु तत्काल बुझाउन राष्ट्रिय निकुञ्जले ताकेता गरेको छ ।
आर्थिक बर्ष २०७६÷७७ र २०७७÷७८ को रकम बेरुजु देखिएको भन्दै १५ दिनभित्र बुझाउन ११ वटा हेलिकप्टर कम्पनीलाई निकुञ्जले पत्राचार गरेको हो । निकुञ्ज क्षेत्रभित्र उडान भर्ने ११ कम्पनीलाई पत्र लेख्दै एक करोड २५ लाख ६४ हजार रुपियाँ बुझाउन भनिएको छ ।
पटक पटक ताकेता गर्दा पनि राजश्व बुझाउन आनाकानी गरेको भन्दै निकुञ्जले कैलाश, डाइनेष्टि, सिम्रिक, माउन्टेन, अल्टिच्युट, एभरेष्ट, समिट, श्री हेलि, प्रभु, मनाङ र श्री एयरलाइन्सलाई कारबाहीको चेतावनी सहित पत्र काटेको हो ।
सबैभन्दा बढी बेरुजु कैलाश एयरको ६६ लाख एक हजार रुपैयाँ देखिएको छ । कैलाशले आ.व. २०७५÷७६ कै आठ लाख ६१ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यस्तै, सिम्रिक एयरको एक लाख तीन हजार रुपैयाँ, एभरेष्ट हेलिकप्टरको १३ लाख ८६ हजार रुपैयाँ, माउन्टेनले सात लाख ४१ हजार रुपैयाँ र डाइनेष्टिले सात लाख २९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।
अन्य कम्पनीहरूको भने चार लाख भन्दा कम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनुभयो ।
यता हेलिकप्टर कम्पनीहरूले भने आफूहरूले पहिले नै राजश्व रकम बुझाए पनि निकुञ्जका कर्मचारीले सही तथ्याङ्क नराखेर पुनः पत्राचार गरेको बताएका छन् । प्रति ल्यान्डिङ तीन हजार रुपियाँका दरले प्रत्येक दिन राजश्व बुझाउने गरे पनि निकुञ्जले बेरुजुका नाममा पैसा असुल्ने काम गरेको सिम्रिक हेलिकप्टर लुक्लाका स्टेशन म्यानेजर टासी शेर्पाले बताउनुभयो ।
आफूहरूले पहिल्यै राजश्व भुक्तानी गरिसकेकोले थप रकम नतिर्ने उनको भनाई छ । अन्य हेलिकप्टर कम्पनीहरूले पनि पहिल्यै राजश्व बुझाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button