तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय युवा संघले पठायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र 

सप्तरी । मुलुकको बिभिन्न भागमा महिला तथा दलित समुदायमाथि भईरहेको श्रृख्लाबद्ध हत्या हिंसा रोक्नुपर्ने लगायतका ६ बुँदे माग सहित राष्ट्रिय युवा संघ नेपाल सप्तरीले प्रमुख जिल्ला अधिकारी शंकर हरी आचार्यमार्फत प्रदेश २ का मुख्यमन्त्रीलाई बुधबार ज्ञापनपत्र पठाएको छ ।

नेकपाका नेता तथा राष्ट्रिय युवा संघ नेता कार्यकर्ताहरुले सामुहिक रुपमा प्रजिअमार्फत मुख्यमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा कोरोना भाइरसको संक्रमणले उब्जाएका समस्या र चुनौतिको साथसाथै पछिल्लो चरण दलित समुदाय र दलितमाथि भईरहेको हिंसात्मक घटनाहरुमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय युवा संघ सप्तरीका ईञ्चार्ज निरञ्जन झा, जिल्ला संयोजक बिनोद कुमार यादव र सहसंयोजक आनन्द देव यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शासक जातीय अहंकार, स्थानीय जातीय अहंकार, उच्च बर्गीय षडयन्त्र र पितृसत्तात्मक चिन्तनको साथै अन्ध धार्मिकता उन्मादका कारण यस्ता समस्याहरु झन जटिल बन्दै गएको भन्दै दमन र बिभेदमा पारिएकाहरुलाई क्षतिपुर्ति सहित बिशेषाधिकारको ग्यारेन्टीसँगै समानताको प्रत्याभुति गर्न माग गरिएको छ ।

दलित समुदाय लक्षित बिशेष कार्यक्रम, बेघरबारलाई जनताको आवास, भोजन, वस्त्र, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार सृजना केन्द्रीत कार्यक्रम ल्याउन माग गर्दै महिलामाथि भईरहेको घरेलु हिंसा, यौनजन्य हिंसा र बलात्कार, बोक्सी लगायतका आरोपमा उत्पीडन र बेइज्जतीलाई तुरुन्त रोक्न र संलग्न अपराधलाई दण्डित गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button