तपाईँ सुन्दै हुनुहुन्छः

थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ८८६ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । कोरोना भाइरसबाट आज पछिल्लो पटक थप एक सय १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ सय ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय १४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.देवकोटाले बिपी कोइराला क्यान्सर अस्पताल धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जना, कोसी अस्पतालमा झापाका १७ जना, हेटौँडा किट प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका सात जना र मकवानपुरका एक जना गरी जम्मा आठ जना, पोखरा प्रादेशिक प्रयोगशालामा बाग्लुङ्का छ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसै गरी राप्ती अस्पतालमा गरिएको परीक्षणमा दाङका १५ जना र रुकुम पूर्वका तीन जना गरी जम्मा १८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १६ जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका २९ जना, बाराका सात जना र सिराहाका दुई जना गरी जम्मा ३८ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म सात सय ९४ जना पुरुष र ९० जना महिलामा सङ्क्रमण पुष्टि भएको छ भने आज थप २८ जना डिस्चार्ज भएपछि हालसम्म कूल एक सय ८३ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाले आज नारायणी अस्पताल वीरगन्जबाट पर्साका २१ जना, कोसी अस्पतालबाट उदयपुरका चार जना र सुशील काईराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बाँकेका दुई जना र बर्दियाका एक जना गरी जम्मा २८ जना उपचारपछि निको भई घर फर्किएको बताउनुभयो ।

हालसम्म नेपालमा कूल ५८ हजार दुई सय ७७ जनाको पिसीआर तथा एक लाख दुई हजार आठ सय ८७ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ८० जनाको पिसिआर र दुई हजार तीन सय २० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button