तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड, सङ्क्रमण फैलिने त्रास

डोटी –  देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थपिन थालेका छन् ।

भारतबाट दिनहुँ हजारौँको सङ्ख्यामा यहाँका स्थानीयवासी भित्रिन थालेका छन् तर उनीहरुको स्वास्थ्य परीक्षण तथा क्वारेन्टिनलगायतको उचित व्यवस्थापन हुन सकेको छैन । अर्कातर्फ दिनहुँ सङ्क्रमित पनि थपिन थालेपछि यहाँका नागरिकमा त्रास फैलिएको छ ।

आइतबारसम्ममा सुदूरपश्चिम प्रदेशका कैलालीमा तीन, बैतडीमा पाँच, आछामका एक र डडेल्धुराका एकजना गरी १० जनामा कोरोना सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लाका स्थानीयवासीमा त्रास फैलिएको हो । भारतबाट हजारौँको सङ्ख्यामा नागरिक भित्रिन थालेका कारण यहाँका अन्य जिल्लाहरु दार्चुला, बाजुरा, बझाङ, कञ्चनपुर र डोटी जिल्लामा कोरोना सङ्क्रमण फैलिन सक्ने आशङ्कामा यहाँका स्थानीयवासीमा त्रास फैलिएको हो ।

यहाँका गाउँ गाउँमा निर्माण गरिएका क्वारेन्टिनमा भारतबाट आएका स्थानीय नागरिक राखिएको छ तर उनीहरु किनमेलाका लागि पसल तथा अन्य अत्यावश्यक कामका लागि पनि बाहिर निस्किन थालेका छन् ।

स्वास्थ्य परीक्षण नै नभएका उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण रहेछ भने त्यसबाट स्थानीय समुदायमा फैलिन सक्ने आशङ्का यहाँका स्थानीयवासीले गरेका छन् ।

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका स्थानीयवासी अहिले जिल्ला फर्किएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार आइतबारसम्म कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयबाट मात्र तीन हजार ९०० जना सुुदूरपश्चिमकै स्थानीय नागरिक नेपाल प्रवेश गरेका छन् ।

उनीहरुलाई बिनास्वास्थ्य जाँच यहाँका स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टिनमा पठाइएको छ । कोभिड–१९ को जाँच गर्ने ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० किट नभएका कारण उनीहरुलाई स्वास्थ्य परीक्षणबिना नै क्वारेन्टिनमा पठाउन थालिएको छ ।

बिना जाँच सबै नागरिकलाई स्थानीय तहका क्वारेन्टिनमा राख्न थालेपछि सुदूरपश्चिमका नागरिकमा कोरोनाको त्रास फैलिने खतरा बढेको केआइसिंह गाउँपालिका–५ का सुरेन्द्रविक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने नागरिकबाट कोरोना फैलिन थालेको छ जस्तो लागेको छ, हाम्रै गाउँपालिकामा २०० जनाभन्दा बढी आएका छन्, उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छैन यस्तै अवस्था दिनप्रतिदिन बढ्दै गयो भने यहाँको समुदायमा पनि सङ्क्रमणको जोखिम बढ्दै जानेछ ।”

डोटी जिल्लामा मात्र आइतबारसम्म ८०० भन्दा बढी नागरिक भारतबाट भित्रिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नं ४ राजपुरमा रहेको सेती सभाहल, वडा नं १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिका, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको चवरा चौतारालगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट सुदूरपश्चिम भित्रिएका उनीहरुलाई शुक्रबार जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले उद्धार गरेर जिल्लामा ल्याएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएर सीमामा अलपत्र परेका नागरिकलाई हामीले उद्धार गरेर क्वारेन्टिनमा राखेका छौँ, अन्य नागरिक पनि आउने क्रम जारी रहेको छ ।”

सीमा क्षेत्रबाट उद्धार गरिएकामा स–साना बालबालिकाका, महिला तथा वृद्धवृद्धासमेत रहेको उहाँले जानकारी दिनुभयो । भारतबाट आएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राख्न थालेपछि जिल्लामा कोरोना सङ्क्रमणको फैलिन सक्ने भन्दै स्थानीयवासीमा सतर्क हुन थालेको दिपायल पिपल्लाका स्थानीयवासी तथा काँग्रेस नेता घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आफ्ना अलपत्र परेका नागरिकको उद्धार गर्नु राम्रो काम भए पनि बिनाजाँच सबैसँगै राख्दा समस्या हुने भएकाले स्थानीयवासीमा कोरोनाको त्रास फैलिएको छ ।”

जिल्लाका स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार नरहेको पाइएको स्थानीयवासीको गुनासो छ ।

त्यसैगरी मानिस दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिन थालेपछि हतारमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएकालाई चाहिने न्यूनतम आवश्यक सामग्री जस्तैः शौचालय, शुद्ध खानेपानी, खाना पकाउने ग्यास, सुत्ने ठाउँलगायतको राम्रो प्रबन्ध हुन नसकेको जोरायल गाउँपालिका–५ का सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय क्वारेन्टिन नाम मात्रका छन्, खानादेखि सुत्नसमेत समस्या छ, जसले गर्दा क्वारेन्टिनमा बसेकालाई नै समस्या हुन थालिसकेको छ ।”

जिल्ला अस्पताल डोटीमा कोरोना भाइरस ९कोभिड–१९० को स्वास्थ्य परीक्षण गर्ने आरडिटी किट नभएका कारण भारतका सीमाबाट उद्धार गरी ल्याइएका नागरिकलाई बिनाजाँच क्वारेन्टिनमा राखिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “किट नहुँदा हामीले स्वास्थ्य परीक्षण गर्न पनि पाएका छैनौँ, सबै नागरिकलाई सामाजिक दूरी कायम हुनेगरी सुत्ने, खाने, बस्ने व्यवस्था मिलाएका छौँ, किट आउनेबित्तिकै सबैको परीक्षण गर्नेछौँ ।” उहाँको वडाका मात्र ३० जना नागरिक भारतका विभिन्न शहरबाट घर फर्किएका छन् ।

भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर क्वारेन्टिनमा राखिएकाहरु भने निकै खुशी भएका छन् । भारतमा पनि लामो समयको बन्दाबन्दीले खान बस्न निकै समस्या परेको र काममा फर्किने सम्भावना अब लामै समयका लागि नरहेको देखेपछि आफ्नै घरमा जे जस्तो दुःख भए पनि सहन गर्न सकिएला भनेर फर्किएको दिपायल सिलगढी नगरपालिका–३ बाँफीका नरेन्द्र साउदले बताउनुभयो ।

दिल्पेश्वर माविको क्वारेन्टिनमा राखिएका उहाँले भन्नुभयो, “अर्काको देशमा निकै दुःख पाएर अहिले आफ्नै घरमा आएका छौँ, यहाँ जस्तो दुःख भए पनि सहन गरेर बस्ने छौँ, हामी देशभित्र आउन पायौँ हामी यसैमा खुशी छौँ ।” भारतबाट स्वदेश फर्किंदा तीन दिनसम्म खाना र पानी नपाएको गुनासो गर्दै उहाँले भन्नुभयो, “पानी माग्दा पनि कसैले वास्ता गरेनन् । कतिपय ठाउँमा त कुट्न पनि आए ।” कोरोना तथा लिपुलेकको नक्साको विवादका कारण भारतमा नोपलीलाई दुःख दिन र गालीगलौजसमेत गर्ने क्रम बढ्न थालेको आफूले पाएको उहाँले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पुष्टि भएकालाई सम्बन्धित जिल्लामा निर्माण गरिएका आइसोलेशनमा राखेर उपचार भइरहेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था सकारात्मक रहेको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितलाई आइसोलेशनमा राखेर उपचार भइरहेको छ, पाँचैजनाको स्वास्थ्य अवस्था राम्रो छ ।” निर्देशनालयका अनुसार कैलालीको जानकी गाउँपालिकाका तीनजना, डडेल्धुराको परशुराम नगरपालिकाका एकजना र बैतडीको शिवनाथ गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परीक्षणबाट उहाँहरु पाँचैजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

भारतका विभिन्न शहरबाट सुदूरपश्चिम भित्रिएका नागरिकमा कोरोना सङ्क्रमण बढ्न थालेको स्थानीयवासीको अनुमान रहेको छ । यसअघि पनि सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना सङ्क्रमण देखिए पनि उपचारपछि सबै निको भएर घर फर्किएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

कैलाली जिल्लामा यसअघि कोरोना सङ्क्रमित देखिए पनि पहाडी दुई जिल्ला बैतडी र डडेल्धुरामा भने पहिलोपटक देखिएको हो । योसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । यसमा पाँचजना निको भएर घर फर्किसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि चैत २२ गते थप तीनजनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिला, कैलाली लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

त्यस्तै वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उहाँहरु सबैजना निको भएर घर फर्किसक्नुभएको छ । वैशाख १ गतेयता सुदूरपश्चिम प्रदेशमा नयाँ सङ्क्रमित नभेटिएकामा गएको शुक्रबारदेखि थपिएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button