तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नेपालमा ६५ लाख रुपैया बराबरको डिसिएको सहयोग

काठमाण्डौं । सरकारले लक डाउनुको अवधि बढाएपछि स्थानीय सरकारसँगको समन्वय र अगुवाईमा विभिन्न गैह्रसरकारी संस्थाहरुले स्वास्थ्य सामाग्री तथा राहत वितरण कार्य गरिरहेका छन्।
डेनमार्कको गैह्र सरकारी संस्था डिसिए नेपालले स्थानीय संस्थाहरुको सहकार्यमा विभिन्न जिल्लामा लगभग ६५ लाख बराबरको राहत तथा स्वास्थ्य सामाग्रीको वितरण गरेको छ ।

हालसम्म कंचनपुर, बर्दिया, बाँके, दैलेख, कैलाली र डोटी जिल्लाका गरी १५६६ घर परिवारलाई स्थानीय सरकारले तोके बमोजिमको खाद्य सामाग्री वितरण गरिसकेको छ । त्यस्तै विभिन्न पालिकाहरुको समन्वयमा क्वारेन्टाईनका लागि १४० बेड बनाउन पुग्ने सामाग्री, ५७ पिपिई सेट, १२ थर्मल गन, २७१ लिटर ‘स्यानिटाईजर’, १६१ प्याकेट चिकित्सा ग्लोभ्स, १७६३ स्यानेटरी प्याड, १०६२० सावुन तथा १०० सेट बाल्टिन र जग वितरण गरिसकेको छ ।

यी सबै सामाग्री आवश्यकता अनुसार विभिन्न समूदाय, क्वारेन्टाईन सेन्टर तथा स्वास्थ्य संस्थाहरुमा पुर्याईसकेको पालिकाहरुले जनाएका छन ।

“हामीले सरकारले तोकेको एकद्धार प्रणालीमार्फत नै सबै सामाग्री पालिकाहरुलाई हस्तान्तरण गरेका हौं,” डिसिए नेपालका ‘मानवीय सहायता तथा विपद् जोखिम न्युनिकरण म्यानेजर, दिनेश गुरुङ्गले बताए । “पहिलो चरणमा पालीकाहरुको अनुरोध र माग अनुसार नै सहयोग गरेका छौं । भने थप सहयोग पनि सोही अनुसार गर्ने छौं ।”

डिसिएले थप सहयोगका लागि पालिकाहरुसँग समन्वय भइरहेको बताएको छ । “सरकारले आफ्नो क्षेत्रबाट गर्न सक्ने काम गरिरहेको छ । तर यो महामारीसँग लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन, त्यसैले हामीले अपिल गरे अनुसारनै वहाँहरुले सहयोग गरिरहनुभएको छ,” दैलेख जिल्लाको आठबिस नगरपालीकाका मेयर खड्गराज उपाध्ययले बताए ।

राहत तथा स्वास्थ्य सामाग्रीका साथै डिसिएले यिनै जिल्लाहरुमा स्थानीय रेडियो सँग सहकार्य गर्दै साझेदारी नामको रेडियो कार्यक्रम पनि उत्पादन तथा प्रशारण गर्दै आएको छ । “यतिबेला घर भित्र बसेका मानिसमा कोरोनाको त्रास छ भने यस सम्बन्धि धेरै जिज्ञासाहरु छन् । त्यस्तै केही त ‘डिप्रेसन’मा गएको अवश्था पनि छ,” गुरुङ्गले थपे “सहि सुचनाले विपदको बेला श्रोताहरुको घाउमा औषधीको काम गर्छ भनेरै हामीले यी कार्यक्रमहरु सुरु गरेका छौं ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button