तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकासँगको विवादका बीच इरानी राष्ट्रपति रउहानी जापानमा   

टोकियो  । अमेरिकासँग पछिल्लो समय कूटनीतिकरूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान आइपुग्नुभएको छ ।

राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो आउनुभएको हो । यस भ्रमणका बारेमा जापानी मिडियाले लेखेका छन् कि “राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति हुनुहुन्छ ।”

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादका बीच पनि उहाँ निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा जानुभएको अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।

राष्ट्रपति रउहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता पनि भइसकेको बताइएको छ ।

उहाँ शुक्रबार टोकियो पुगेपछि उहाँको सम्मानमा ‘गार्ड अनर’ दिइएको थियो । त्यसपछि उहाँहरुबीच शुक्रबार साँझ नै औपचारिक वार्ता र रात्रिभोज सम्पन्न भएको समाचारमा जनाइएको छ ।

तर द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारेमा भने केही नबताइएको राजधानी टोकियोबाट विभिन्न अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

उहाँको यो भ्रमण इरानमा गत महिना भएको ठूलो आन्तरिक आन्दोलनपछि भएकाले अर्थपूर्णरूपमा हेरिएको छ । अधिकारीहरुका अनुसार इरान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा गत महिना व्यापक आन्दोलन भएको थियो ।

साथै केही समययतादेखि अमेरिकाले पनि इरानमाथि उसका आणविक कार्यक्रमका विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ । अमेरिकाको यो नाकाबन्दीले गर्दा इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारहरुले जनाएका छन् ।

इरानसँगको विश्वका ठूला शक्ति राष्ट्रहरुसमेतको संलग्नतामा भएको सम्झौताबाट पछि हटेर अमेरिकाले इरानमाथि यस्तो प्रतिबन्द लगाएको छ ।

तर यसपटकको यो भ्रमण भने अमेरिकासँगको सो मुद्दाका विषयमा नरहेको इरानको स्पष्टोक्ति छ । इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग पछिल्लो समयमा जारी विवादास्पद मुद्दाका विषयमा कुनै पनि किसिमले सम्बन्धित छैन, भन्नुभयो ।

तर उहाँले यस भ्रमणको समयमा त्यस विषयमा कुनै कामकारवाही नहुने भए पनि जापानले आफ्ना विषयहरुमा अमेरिकासँग कुरा गर्ने र इरानसँग सद्भाव भने राख्ने गरेको जानकारी दिनुभयो ।

तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रेहर इरानको भ्रमण गर्नुभएको थियो ।
अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उहाँले इरानको भ्रमण गर्नुभएको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button