तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा कुरीलो खेतीबाट राम्रो आम्दानी गर्दै किसान

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका बराङ्दीका जिवराज घिमिरेले कुरिलो खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । नेपालमै पहिलो पटक व्यवसायिक फर्मका रुपमा दर्ता गरी कुरिलो खेती सुरु गर्नु भएका घिमिरेले मिहनेत र जागर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण दिनुभएको छ ।
यतिवेला घिमिरेका परिवार आप्mनो कुरीलोवारीमा व्यस्त देखिन्छन् । उहाँले ३ रोपनी जग्गामा अहिले नयाँ र पुराना गरी २ हजार गाँज कुरिलो लगाउनुभएको छ । यसमा घिमिरेलाई श्रीमती लुमकला घिमिरे समेत साथ छ । घिमिरे दम्पनी विहान र साँझ कुरीलोको स्याहार सुसारमै व्यस्त बन्नुहुन्छ ।

गत आर्थिक वर्षमा ३ लाख रुपैयाँको कुरीलो विक्री गरेका घिमिरेले यस वर्ष ५ लाख रुपैयाँको विक्री गर्ने लक्ष्य रहेको बताउनुहुन्छ । यहाँ उत्पादन भएका कुरीलो बारीबाटै र बजारमा सहज रुपमा विक्री हुँदै आएको छ घिमिरेले भन्नुभयो । अहिले बजारमा यसको माग बढी भएपनि माग अनुसार उत्पादनमा कमी छ ।
कम लगानीबाट व्यवसाय सुरु गरी आम्दानी बढी मात्रामा लिन सकिने भएकाले पनि कुरीलो खेतीतर्फ जिल्लाका किसानहरु आकर्षित भएका हुन् । रसायनिक मल, रसायनिक विषादीको प्रयोग विना उत्पादन लिन सकिने भएपछि यो खेतीतर्फ किसानको आर्कषण बढेको घिमिरेको भनाई छ ।
घिमिरेको देखासिखीबाट अहिले जिल्लाको रामपुर, तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेबी गाउँपालिकाका कृषकहरुले व्यवसायीक उत्पादनको थालनी गरेका छन् ।
नगदेबालीमा किसानलाई आकर्षित गर्न यहाँका स्थानीय सरकारले पनि अनुदान तथा प्राविधिक सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button