तपाईँ सुन्दै हुनुहुन्छः

सल्हेस दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश

चितवन । सल्हेस एफसी सिराहा गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा सूर्यपुर एफसी चितवनलाई हराउँदै सल्हेसले सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सल्हेसले सूर्यपुरलाई टाई ब्रेकरमा ५–३ ले हरायो । टाई ब्रेकरमा सल्हेसका जय गुरुङ, सुमित श्रेष्ठ, दीपेश आले, सन्तोष क्षेत्री र कुलदीप कार्की पाँचै जनाले गोल गरे ।

सूर्यपुरका हिसुब थपलिया, अभिषेक लिम्बु, शिशिर लेखीले गोल गर्दा मोहित गुरुङको प्रहार सल्हेसका गोलकिपर प्रमिजय गच्छदारले बचाए । उनी नै म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा सोमबार आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसी र नेपाल पुलिस क्लब काठमाडौँ भिड्नेछन् । खेल दिउँसो ३ः३० बजे हुनेछ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button