तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको राजधानी निर्माण : प्रगति, योजना र चुनौतीबारे छलफल सम्पन्न

बाँके । लुम्बिनी प्रदेशको राजधानी शहर निर्माणसम्बन्धी प्रगति र भविष्यका योजनाहरूबारे सरोकारवालासँग सोमवार छलफल गरिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा भएको यस छलफलमा संस्थापक मुख्यमन्त्री शङ्कर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्रीहरू, संसदीय दलका प्रतिनिधि, र प्रदेश सभा सदस्यहरूको विशेष उपस्थिति थियो। छलफलमा राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायतका सरोकारवाला पक्षसँग सुझाव सङ्कलन गरिएको थियो।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले एक खर्बको लागतमा २० वर्षभित्र नमुना राजधानी निर्माणको योजना अघि बढाएको जानकारी दिनुभयो। यसका लागि पहिलो चरणमा २५ अर्ब बजेट जुटाउने पहल थालिएको छ। जग्गा एकीकरण र शहर निर्माणलाई गति दिन प्रदेश सरकार ऋणको खोजीमा रहेको उहाँले बताउनुभयो।

संस्थापक मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापनको जिम्मेवारी सबैले लिनुपर्ने र भविष्यमा सुन्दर तथा व्यवस्थित शहर निर्माणको दायित्व सबैको भएको उल्लेख गर्नुभयो। उहाँले अव्यवस्थित राजधानी सहरको सट्टा नमुना शहर निर्माण गर्न सामूहिक प्रतिबद्धताको खाँचो औँल्याउनुभयो।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले राजधानी निर्माणका लागि एक हजार विगाह जग्गा १४ प्याकेजमा बाँडेर नमुना प्लट निर्माणको काम अघि बढाइएको जानकारी दिनुभयो। यद्यपि, स्रोतको अभाव र जग्गा कित्ताकाटमा भएको ढिलाइले निर्माणमा समस्या उत्पन्न गरिरहेको छलफलमा सरोकारवालाले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button