तपाईँ सुन्दै हुनुहुन्छः

परियार सेवा समाजको अध्यक्षमा बलबहादुर सुन्दास चयन

काठमाडौँ । परियार सेवा समाजको अध्यक्षमा बलबहादुर सुन्दास चयन  हुनुभएको छ । असोज ५ गतेदेखि तीन दिनसम्म काठमाडौँमा चलेको समाजको पाँचौँ राष्ट्रिय सम्मेलनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । 

सम्मेलनले ७७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा कृष्ण रणपाल चयन हुनुभएको छ । सात प्रदेशबाट सातजना उपाध्यक्ष चयन हुनुभएको छ भने महासचिवमा अञ्जान गौतम परियार चयन हुनुभएको छ । 

सम्मेलनले दुई उपमहासचिव बिमल भित्रीकोटी र राम परियारलाई चयन गरेको छ । सम्मेलनले सात प्रदेशबाट सात जना सचिव चयन गरेको वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले जानकारी दिनुभयो । कोषाध्यक्षमा प्रकाशबहादुर दर्जी चयन हुनु भएको छ । समाज दमाई जातिको शैक्षिक तथा सामाजिक विकास र उत्थानका लागि क्रियाशील हुँदै आएको छ । 

अध्यक्ष परियारले भन्नुभयो, “परियार जातिको विकास र उत्थानमा समाजले काम गर्दै आएको छ । आर्थिक विकासका लागि हामीहरूको परम्परागत पेशा सिलाईलाई व्यवस्थित र उद्योगको रुपमा सञ्चालन गर्न र आफ्नो पेशागत परिचालनका लागि काम गर्दै आएको छौँ ।” 

जातीय भेदभाव तथा छुवाछूतको अन्त्य गर्न संविधान कार्यान्वयन गरी दलित हक अधिकारको प्रत्याभूतिका लागि नयाँ समितिले अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ । २०५२ सालमा स्थापना भएको परियार सेवा समाजको हाल ६५ जिल्ला शाखा क्रियाशील छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button