तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा चाडबाड लक्षित सहुलियत पसल सञ्चालन

चितवन । चितवनमा चाडबाडलक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ ।

उपभोक्तालाई दैनिक उपभोग्य सामाग्री सहुलियत रूपले बिक्री वितरण गर्ने उद्देश्यसहित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढबाट यो सेवा शुरु गरिएको हो । पसलको उद्घाटन जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गर्नुभयो ।

उद्घाटनपछि प्रतिक्रिया दिँदै प्रजिअ यादवले बजारमा कालोबजारी तथा कृत्रिम अभाव रोक्न सहुलियत पसलले मदत पुर्‍याउने बताउनुभयो ।

उहाँले आम उपभोक्तालाई साल्ट ट्रेडिङ्गबाट किन्दा सही मूल्य हुने र मिसावट नहुने हुँदा यहीँबाट किन्न आग्रह गर्नुभयो ।

कर्पोरेशनका नारायणगढ प्रमुख बुद्धि विनोद दाहालले आम उपभोक्ताले सहज र सहुलियत रूपले दैनिक उपभोग्य सामान पाउन भन्ने उद्देश्यबाट सहुलियत पसल सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताउनुभयो ।

सहुलियत पसल बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ । पसल दशैं अघि असोज २२ गतेसम्म सञ्चालन हुने र दसैँपछि पनि निरन्तरता हुने उहाँले जानकारी दिनुभयो । दाहालका अनुसार सहुलियत पसलमा चिनी प्रतिकेजी सय रुपैयाँ, आयो नुन प्रति प्याकेट २४ रुपैंया मूल्य कायम गरिएको । अन्य खाद्य सामाग्री चामल, दाल, खानेतेल, चिउरा पनि बजार भाउ भन्दा कम मूल्यमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button