तपाईँ सुन्दै हुनुहुन्छः

शृङ्गार व्यवसायबाट मनग्य आम्दानी

कञ्चनपुर।ब्यूटीसिएन (शृङ्गार) व्यवसायमा संलग्न भीमदत्त नगरपालिका–४ की २९ वर्षीया पुनम जैसीलाई परिवारको खर्च चलाउने पिरलो छैन । तालिम लिएर व्यवसाय सञ्चालन गरेकी उहाँको मासिक कमाई रु ४० हजार जति हुने गरेको छ ।

मासिक रूपमा आउने कमाइले उहाँको घर खर्च सहज रूपमा चल्न थालेको छ । घरभाडा, बालबालिकाको विद्यालय खर्च, लुगाफाटो, खाद्यान्न, नुनतेल, तरकारीको जोहो व्यवसायको कमाइले धान्दै आएको उहाँले बताउनुभयो ।

अन्तरजातीय प्रेम विवाह गरेकी जैसीले सुरुका तीन वर्ष निकै कष्ट सहनुपर्यो । “महेन्द्रनगर बजारको सिद्धनाथ मन्दिरमा लाग्ने तीनमहिने मेलामा तीन वर्षसम्म बालबालिकाका खेलौना, शृङ्गारका सामान, जुत्ता चप्पललगायत सामग्री बेचेर रु ७०–८० हजार जति कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “अठार जनाको संयुक्त परिवारमा बस्नुपर्दा त्यो कमाइले खर्च पुग्दैन्थ्यो ।”

तीन महिना मन्दिर छेउ बसेर सामान बिक्री गर्ने जैसीले बाँकी समय मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । “ ब्यूटिसीएन तालिममा सहभागी हुने मौका पाए”, उहाँले भन्नुभयो, “निकै मेहनत गरेर एक लेभलसम्मको परीक्षा उत्तीर्ण गरेँ, आफ्नै व्यवसाय सञ्चालन गर्ने धोको थियो ।”

सीप सिकेर निपूण भए पनि व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजीको अभाव थियो । मन्दिरमा सामान बिक्री गरेको र मजदुरी गरेर खाइनखाइ राखेको रु ३० हजार रकम उहाँसँग थियो । “घर नजिकैको सहकारीमा गएर व्यवसाय गर्ने इच्छा जाहेर गरेँ, पुँजी अभाव रहेका कुरा सुनाएँ”, उहाँले भन्नुभयो, “सहकारीबाट रु ४० हजार कर्जाका रूपमा रकम पाएँ, आफूसँग रहेको र सहकारीको गरी रु ७० हजार रकमबाट व्यवसाय सुरु गरेँ ।”

ग्राहकको मागअनुसार सेवा दिन थालेपछि व्यवसाय अगाडि बढ्दै आएको उहाँले उल्लेख गर्नुभयो । हाल पसलमा रु छ लाख बढीको ब्यूटिसीएन र शृङ्गारसम्बन्धीको सामान रहेको छ । पसलबाट कमाएको रु १४ लाख र श्रीमान्ले कमाएको रु १२ गरी रु २६ लाखमा जैसीले महेन्द्रनगर बजार छेउमा एक कठ्ठा जग्गा घरेडी जोड्न भ्याएकी छन् ।

भाडाका घरमा बस्दै आएकी जैसीले यसै वर्ष आफ्नै घर निर्माण गर्ने सोच अघि सार्नुभएको छ । ग्राहकको मन जित्न सके व्यवसायलाई अगाडि बढाउन सकिने उदाहरण उहाँले पेस गर्नुभएको छ । जैसीका दुई छोरी र एक छोरा छन् । छोराछोरीलाई उहाँले निजी अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउँदै आउनुभएको छ । स्वरोजगार भएपछि जीवन सहज रूपमा चल्न थालेकामा उहाँ सन्तुष्टि व्यक्त गर्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button