तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: विनियोजन विधेयक २०८१ पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरेको छ । 

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ सर्वसम्मतले स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । 

त्यसअघि विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरूको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँको गोठाटारमा ज्येष्ठ नागरिकलाई आश्रम बनाउन बजेट विनियोजन गरिएको र देशभरका ४८ स्थानमा ज्येष्ठ नागरिक केन्द्र सञ्चालनमा रहेको बताउनुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुभयो । 

अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी मन्त्रालयका विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुभयो । 

यसैगरी गृह मन्त्रालयको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले यो वर्ष मनसुनजन्य विपदबाट २८ जनाको मृत्यु, चट्याङबाट ३२ जिल्ला प्रभावित भएको जानकारी दिनुभयो । 

यसअघि बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले स्थानीय तहबाट श्रम र रोजगार सम्बन्धी सेवा एकीकृत रुपमा प्रवाह भइरहेको बताउनुभयो । 

विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरूको जवाफ दिनुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा परिवर्तन गर्न शिक्षकलाई उपयुक्त तालिम दिनुपर्ने र शिक्षकहरूको कामकारबाहीको रेकर्ड राख्न शिक्षक पोर्टलका लागि बजेट छुट्ट्याइएको, साथीसँग सिकाई कार्यक्रम ल्याइएको, करियर काउन्सिलका लागि बजेट छुट्ट्याइएको जानकारी दिनुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक असार २३ गते आइतबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button