तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख राना र चीनका बिदेशमन्त्री वाङ यी बीच भेटवार्ता

काठमाडौँ।उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यी बिच तिब्बतमा भेटवार्ता भएको छ । चीनका बिदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताउनुभयो । “नेपाल चीनको घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ।”, उहाँले भन्नुभयो “नेपाल सधैँ ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ ।”

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधैँ कदर गर्ने पनि उपसभामुख रानाले बताउनुभयो । भेटका क्रममा उहाँले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेका छौ भन्नुभयो । नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाई उहाँको थियो ।

अर्को प्रसङ्गमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राख्नुभयो । उहाँले हिमालय क्षेत्रका देशहरूका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रवर्द्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।

“ट्रान्स हिमालयन फोरम यस क्षेत्रका देशहरूका बिचमा थप सहकार्यका लागि मार्ग प्रशस्त गर्नका लागि व्यापक सम्भावना र अवसरहरू प्रदान गर्नेछ ।”, उहाँले भन्नुभयो “यो फोरमले बीआरआईलाई मात्र नभई देशहरूबिचको व्यापार, पारवहन र लगानीलगायतका सामाजिक–आर्थिक सहकार्यलाई पनि प्रवर्द्धन गर्नेछ ।” ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठूला परियोजनाहरूलाई कार्यान्वयनको आवश्यकता औँल्याउँदै उहाँले यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक हुनेछन भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button