तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

कञ्चनपुर।व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ । वडा कार्यालयको रु तीन लाख र किसानको रु तीन लाख गरी रु छ लाखमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो ।

कृषक समूह र कृषि फार्ममार्फत मिनीटिलर खरिद गरी सातजना किसानलाई उपलब्ध गराइएको कृष्णपुर–२ का वडाध्यक्ष अर्जुन साउदले बताउनुभयो । “व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा मिनीटिलर उपलब्ध गराएका छौँ, किसानको कार्यक्षमता वृद्धि गर्न मिनीटिलर वितरणको कार्यले सघाउ पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

वडाका व्यावसायिक खेती गर्ने सबै किसानलाई यस कार्यक्रममा समेट्न नसकिएको उल्लेख गर्नुहँुदै उहाँले आगामी आर्थिक वर्षमा चालु आवमा अनुदानमा मिनीटिलर पाउन नसकेलाई उपलब्ध गराउने योजना रहेको बताउनुभयो । किसानलाई व्यावसायिक बनाउनका लागि वडाका तर्फबाट बीउबिजन, पोलिहाउस, किटनाशक, स्प्रे, आधुनिक मेसिन, यन्त्र वितरण गरिँदै आएको र आगामी योजनामा पनि समेट्ने उहाँले बताउनुभयो ।

“गोरुले खेत जोत्दै आएका थियौँ”, किसान प्रिती रानाले भन्नुभयो, “मिनीटिलर अनुदानमा पाएपछि गोरुको तुलनामा खेत जोत्न मिनीटिलरबाट छिटो हुने भएको छ, कम श्रम लाग्ने हुँदा उत्पादन लागतमा कमी आई खेतबारीमा उत्पादन गर्दै आएको तरकारीलाई बजारमा प्रतिस्पर्धात्मक दररेटमा बेच्न सक्छौँ ।” अर्का किसान प्रेम महताले मिनीटिलरको सहयोगमा खेतबारी जोत्न निकै सहज हुने बताउनुभयो । “गोरुको जस्तो स्याहारसुसार गर्नु पर्दैन, इन्धनको व्यवस्था गरी चलाउन सकिन्छ, बिग्रिएमा थोरै रकम तिरेर बनाउन सकिन्छ, गोरुले दुई दिन लागाउने कार्य एकै दिनमा हुन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button