तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभामा विनियोजन विधेयकमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निजामती ऐन समयमा बन्न नसक्दा कर्मचारी व्यवस्थापनमा सबैभन्दा बढी समस्या भइरहेको बताउनुभयो ।

उहाँले कर्मचारीहरूको रूपान्तरण नभई देश विकास हुँदैन भन्नेमा प्रष्ट रहेको भएपनि कर्मचारीहरूको रूपान्तरणमा चुनौतीहरू रहेको र निजामती सेवा ऐन बन्न नसक्दा तीनै तहको कर्मचारीका कारण कार्य सञ्चालनमा समस्या भइरहेको बताउनुभयो ।
उहाँले कर्मचारीको सरुवा बढुवालगायतका विषयमा विधि पद्धति र निश्चित मापदण्ड नहुँदा समस्या भइरहेको बताउनुभयो ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले बनको सम्वद्र्धन प्रणालीमा आधारित रहेको र वनको दिगो व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड स्वीकृत गरी वन व्यवस्थापनको कार्य शुरु गरिएको बताउनुभयो ।

मन्त्री साहले वन ऐन समयानुकूल हुन नसक्दा काम गर्र्न कठिन भइरहेका र नयाँ ऐन ल्याउन धेरै ढिलाइ गर्न नहुने बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले युवालाई मदिरा, सुर्ती र कुलतबाट जोगाउने तथा भावी योजना बनाउन नसकेर अलमलमा रहेका युवाहरूलाई सही मार्गमा ल्याउने उद्देश्यका साथ युवा परामर्श तथा मार्गदर्शन कार्यक्रम ल्याइएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले स्थानीय स्तरदेखि नै खेलकुद सम्बन्धी तालिम प्रदान गर्न खेलकुद प्रशिक्षक खटाइएको र बृहत् खेलकुद तयारी तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद विकासका लागि विशेष खेलकुद प्रशिक्षण कार्यक्रम सञ्चलन गरी रकम विनियोजन गरिएको बताउनुभयो ।

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले आगामी आर्थिक वर्ष भित्रमा ४ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित मन्त्रालयको बजेट कार्यक्रम व्यवस्थापन गरिएको बताउनुभयो ।

मन्त्री बस्नेतले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको तथा विद्युत् उत्पादन र खपतको दरमा ठूलो अन्तर रहेकाले यसको व्यवस्थापन गर्ने गरी योजनाहरू ल्याइएको बताउनुभयो ।
उहाँले आन्तरिक तथा अन्तर्देशीय प्रसारणलाई विस्तार तथा सुधारका लागि पनि बजेट केन्द्रित गरिएको पनि बताउनुभयो ।

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक, आर्थिक विकास र समृद्धिको लागि सबै देशहरूसँग सार्वभौमिक समानता, पारस्पारिक लाभको आधारलाई केन्द्रबिन्दु राखेर परराष्ट्र नीति अवलम्बन गरिएको बताउनुभयो ।

परराष्ट्र मन्त्री श्रेष्ठले छिमेकी राष्ट्रहरूसँग सौहाद्धपुर्ण सम्बन्धको विकास गर्ने नीति अनुरुप सीमा विवादका संवेदनशील विषयमा वार्ता र कूटनीतिको माध्यमबाट समस्या समाधान गर्ने बताउनुभयो ।युक्रेन रुस युद्धमा सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकको जीवन रक्षा, क्षतिपूर्ति र नेपाल फिर्ता ल्याउनका लागि आवश्यक सबै कूटनीतिक उपायहरूमार्फत प्रयास जारी रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

सहरी विकास मन्त्री धनबहादुर बुढाले सुरक्षित, स्वच्छ व्यवस्थित र आर्थिक रुपमा गतिशिल शहर निर्माणका लागि मन्त्रालयको बजेट केन्द्रित गरिएको बताउनुभयो ।
मन्त्री बुढाले भौगोलिक विकटता, असन्तुलित बसोबास र विकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाइसराइ रोक्न आधुनिक सेवा सुविधा सहितको नयाँ शहर निर्माण आयोजनातर्फ बजेट केन्द्रित रहेको बताउनुभयो ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले देशको आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयले संस्थागत, क्षेत्रगत, नीतिगत व्यवस्था गर्दै आएको बताउनुभयो ।

मन्त्री तामाङले सीमित बजेटका बाबजुद पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेश लक्षित कार्यक्रम बजेटमा समावेश गरिएको, पर्यटक आर्कषण गर्ने रोड सो जस्ता कार्यक्रम गरी पर्यटक भित्र्याउने लक्ष्यमा सफलता प्राप्त गर्ने गरी कार्यक्रमहरूको व्यवस्था गरिएको बताउनुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप यादवले सै स्थानीय तहमा आधारभूत अस्पताल र स्वास्थ्य संस्था निर्माणका लागि आवश्यक व्यवस्थापन, जनशक्ति व्यवस्थापन, दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति तथा शल्यक्रिया सेवा विस्तारका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

उहाँले सुरक्षित मातृत्व सेवाको थप पहुँच विस्तार गर्न मन्त्रालय प्रयासरत रहेको, सिंहदरबार वैद्यखाना विकास समिति खारेज गरी नयाँ मोडलमा काम गर्न प्रक्रिया अघि बढाइएको र औषधि उत्पादनलाई प्राथमिकता दिइने बताउनुभयो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सांसदहरूले उठाएका विषय जवाफ दिनुहुँदै सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम उपयोग गरी विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं समृद्धि हासिल गर्न, युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी सिर्जना गर्नेतर्फ मन्त्रालयको बजेट केन्द्रित रहेको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक भोली शुक्रबार दिउँसो ११:१५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button