तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप : विर्तामोड फाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा विर्तामोड युनाइटेड प्रवेश गरेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराउँदै विर्तामोड उपाधि नजिक पुगेको हो ।

खेलमा झापाका मौसम लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारे ।

उपाधिका लागि बिर्तामोडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । एपीएफ बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राई बेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button