तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध कारोबारीको सञ्जाल तोड्दै मकवानपुर प्रहरी

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेका अवस्थामा वैशाख २४ गते मकवानपुर प्रहरीले तीन युवकलाई पक्राउ गरेको थियो । 

मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका-३ निवासी २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ निवासी २७ वर्षीय विवेक प्रजा र हेटौँडा उपमहानगरपालिका-१८ निवासी २२ वर्षीय उत्तम पाख्रिनलाई पक्राउ गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरी लागुऔषध तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरिको टोलीले ३६ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।  

त्यसको दुई दिन नबित्दै वैशाख २६ गते हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट गाँजासहित दुई युवक पक्राउ परे । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ सानो भाबर निवासी १९ वर्षीय विजय तामाङ र रौतहटको वृन्दावन नगरपालिका-१ निवासी ३५ वर्षीय धर्मेन्द्र ठाकुर छन् । 

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ट ख ३५५७ नम्बरको बस चेकजाँच गर्दा बसमा सवार दुवैको साथबाट पाँच किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

गत वैशाख ४ गते पर्सा राष्ट्रिय निकुञ्जको मनहरी-४ माथिल्लो मसिनेबाट गाँजासहित प्रहरीले मकवानपुरको सात जनालाई पक्राउ गरेको थियो । एक क्विन्टल ३० किलो एक सय ५० ग्राम गाँजासहित पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका(४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका-७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका-५ निवासी ३६ वर्षीय दिपक थापामगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेललाई प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीले मकवानपुरमा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन्  । 

मकवानपुरमा गाँजा, चरेस, अफिम, ब्राउन सुगर जस्ता प्रतिबन्धित लागुऔषधको कारोबारमा संलग्न व्यक्ति  पक्राउ पर्न थालेका हुन् । सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजा ओसारपसारमा संलग्नलाई प्रहरीले दिनहुँजसो पक्राउ गरिरहेको छ ।

सङ्गठित अपराध लागुऔषध विरुद्ध सक्रियता बढाएको मकवानपुर प्रहरीले पछिल्लो तीन वर्षमा ३७ हजार पाँच सय ९६ थान विभिन्न प्रकारका लागुऔषध ट्याब्लेट, ११ हजार चार सय छ किलो चार सय १३ ग्राम गाँजा, एक सय ३८ किलो नौ सय चार ग्राम चरेस, एक सय ६६ ग्राम पाँच सय ७३ मिलिग्राम खैरो हिरोइन र ३३ किलो ३२ ग्राम तीन सय मिलिग्राम अफिमसहित छ सय ३९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो अवधिमा लागुऔषध कारोबारसम्बन्धी चार सय १३ वटा मुद्दा दर्ता गरिएको छ । 

सीमावर्ती भारतीय बजार पुगेर लागुऔषध सेवन गर्ने र खरिद गरी ल्याउने युवा जमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरी जाँचलाई कडाइ गरेसँगै अधिकांशको साथबाट लागुऔषध  बरामद हुने गरेको छ। 

लागुऔषध सेवन र कारोबारी आरोपमा पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । पक्राउ पर्ने युवाहरू अभिभावकको निगरानीमा नभएका युवा हुने गरेको हेटौँडा उपमहानगरपालिका-४ का स्थानीय अगुवा रुपेश थापाले बताउनुभयो । 

पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथी सङ्गतको बहकाउमा परेर दुर्व्यसनीमा फस्ने गरेको उहाँको भनाइ छ । “यसअघि प्रायःजसो मधेसी समुदायमा लागुऔषधको दुर्व्यसनी देखिँदैन थियो”, उहाँ भन्नुहुन्छ, “तर पछिल्लो समय हरेक समुदायका युवा जमातमा ह्वात्तै त्यसको लत देखिन्छन् ।” 

“छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्नो छोरा लागुऔषध दुर्व्यसनमा लागेको पत्याउँदैनन्”, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल भन्नुहुन्छ, “लागुऔषधको दुर्व्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घरपरिवार आफैँ सचेत हुनुपर्छ ।” 

भारतबाट भित्रिने लागुऔषध र मकवानपुरमा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रिजालको भनाइ छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button