तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा ग्रामीण क्षेत्रमा पुगेर व्यवसायीलाई कर शिक्षा प्रदान

गुल्मी । गुल्मी जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर करदाता शिक्षा प्रदान गरिएको छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ८ स्थित सिमलटारी क्षेत्रका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजना र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको समन्वयमा व्यवसायीलाई करदाता शिक्षा तथा अनुगमन विषयक शिक्षा प्रदान गरिएको थियो ।

कर शिक्षा बारे जानकारी नहुँदा विभिन्न व्यवसाय गर्ने व्यवसायीलाई समस्या झेल्नु पर्ने बाध्यता छ । त्यसलाई मध्य नजर राखेर कर शिक्षा करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो । व्यवसायीलाई करदाता सेवा कार्यालय गुल्मीका प्रमुख सुरज बस्यालले व्यवसायीहरूले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिस म्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराउनुभएको थियो ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले व्यवसाय दर्ता, नवकिरण र अनुगमनको बारेमा जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले व्यवसाय दर्ता नवीकरण र अनुगमन, कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा व्यवसायीहरूले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्याहरूको बारेमा जिज्ञासा राखेका थिए ।

व्यवसायीहरूले राखेको जिज्ञासामा करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत सुरज बस्यालले व्यवसायीलाई आफूले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘व्यवसायीलाई जरिवाना तिराउनु भन्दा पनि कर सम्बन्धी सचेतना दिनु पहिलो प्राथमिकता हो । आफ्नो व्यवसायको कर अधिकृत स्वयं आफै रहेकाले कर सम्बन्धी जानकारी आफैले लिनुपर्छ’ ।

कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष श्रीप्रसाद भलामीले व्यवसायीले दर्ता नवीकरण समयमै गरेर व्यवसाय गरे कुनै पनि जरिवाना र कर कार्यालयबाट डराउन नपर्ने बताउँदै उहाँले कर सचेतना नहुँदा धेरै व्यवसायी जरिवानामा पर्ने गरेको बताउनुभयो ।

गुल्मी जिल्लाको ग्रामीण क्षेत्रमा पुगेर पहिलोपटक करदाता शिक्षा प्रदान गरिएको हो । कर शिक्षा प्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्याहरूमा सहज हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । उहाँले कर सम्बन्धी आइपर्ने समस्याहरूको बारेमा धेरै जिज्ञासाहरू आउने गरेकाले बेला बेलामा गुल्मी उद्योग वाणिज्य सङ्घले करदाता शिक्षा कार्यक्रम गर्दै आएको बताउँदै व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको अन्त्य गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले व्यवसायीले कर तिर्नुसँगै आफ्नो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरि राख्नु पर्ने बताउँदै गुल्मी जिल्ला भरका व्यवसायलाई सूक्ष्म तरिकाले अनुगमन भइरहने उहाँले सचेत गराउनुभयो । जिल्लाका व्यवसायीहरूलाई कर तिर्न पाल्पा, बुटवल जानुपर्ने बाध्यता थियो । तर अहिले भने तम्घासमै करदाता कार्यालय स्थापना गरिएको छ । ग्रामीण क्षेत्रका व्यवसायीले शिविरका माध्यमबाट गाउँमै कर तिनुपर्ने व्यवस्था मिलाई दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button