तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि एकताबद्ध हुन प्रधानमन्त्रीको आह्वान

अर्जुन श्रेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण राजनैतिक दल र सामाजिक संघ संस्थाहरूलाई आपसी स्वार्थ र मतभेद त्यागेर देश विकासका लागि एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देश आर्थिक विकासको दिशामा अगाडि बढिरहेको स्पष्ट पार्नुहुँदै अनावश्यक कुरामा नअल्झी एकतावद्ध भएर अगाडि बढ्न सम्पूर्ण राजनैतिक दल र संघ संस्थाहरूलाई आह्वान गर्नुभएको हो ।

आर्थिक विकास हासिल गर्न सामजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता कायम गरी विकास निर्माणलाई अगाडि बढाउनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विभिन्न राजनैतिक दल निकटका मजदुर संगठन हरूले अन्तराष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त रूपमा कार्यक्रम गरी एकताको सन्देश दिएको बताउनुहुँदै यसले आम नागरिकको चहानालाई प्रष्ट पारेको बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका परिवर्तनका सम्पूर्ण घटनाहरू राजनैतिक दलहरू बीचको एकता र समझदारीबाट मात्रै सम्भव भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि सम्पूर्ण दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देश विकासका लागि युवा शक्तिको विदेश पलायन हुने क्रमलाई निरूत्साहित गर्न सरकारले सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरू ल्याएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले श्रमिकको सुरक्षा सुनिश्चित गर्न छुट्टै आयोगको गठन हुनुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले देशमा श्रम गर्ने वातावरण भए मात्रै विकासले गति लिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button