तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतले तोकेको आकारमा फेवाताल 

पोखरा । पोखराको फेवातालको हाल आकार वृद्धि भएको छ । लगातार वर्षा भएसँगै फेवातालको पानीको सतह अन्य समयमा भन्दा केही माथिसम्म आएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका इन्जिनियर मोहनराज आचार्यले बताउनु भयो । 

फेवातालले सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्ड कायम गर्न दिएको निर्देशन अनुसार हाल पानीको सतह बढेको उहाँले बताउनु भयो । फेवातालको किनार क्षेत्रमा प्राकृतिक रूपमै पहिलाकै स्वरूपमा रहेको अवस्थामा सर्वोच्च अदालतले दिएको निर्देशन अनुसार पानीले तालको आकार लिएको बताउँदै इन्जिनियर आचार्यले वर्षाद घटेसँगै पानीको मात्रा घटेको खण्डमा पुनः तालले पहिलाकै आकारमा जाने जनाउनु भयो । 

पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको पानी समुद्री सतह देखि हाल ७ सय ९४.५ मिटरको लेबलमा रहेको ई.आचार्यले जनाउनु भयो । हिउँदको समयमा फेवातालको पानीको सतह समुद्री सतह देखि ७३.७ प्रतिशतमा झर्ने गरेको उहाँको भनाई छ । फेवातालको पानी समुद्री सतह देखि ७ सय ९६ मिटरसम्मको उचाईमा पुग्न सक्ने गरी फेवाबाध रहेको ई.आचार्यले बताउनु भयो । 

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले खासै प्रभावकारी ढंगले काम गर्न नसकेको वेला हाल फेवातालले करिब ६५ मिटर कायम हुने गरी तालको आकार लिएको स्थानीयले जनाउनु भयो । पोखराको बाराहीघाट क्षेत्रको करिब ६५ मिटर भन्दा माथिसम्म पानीको सतह आएको छ भने चंखपुर क्षेत्रमा हाल सुरु भएको अस्थायी बसोबास हुने केही बस्ती क्षेत्रमा पानीको डुबान हुन थालेको स्थानीय शिव देवकोटाले जनाउनु भयो । पोखरा पर्यटनको राजधानी भएकोले यहाँको पर्यटकीय गन्तव्य फेवाताल बचाउनु उहाँको पहिलो दायित्व भएको उहाँको भनाई थियो । 

फेवातालमा पानीको सतह बढेका वेला पानीको मात्र सन्तुलन राख्न बाध खोल्ने र पानीको श्रोत कम हुँदा फेवाबाधका ढोका भने बन्द गर्ने भएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका सिनियर डिभिजन प्रमुख रमेशराज शर्माले बताउनु भयो । फेवातालमा अतिक्रमण र दोहोन नरोकिएकोले गर्दा तालको भूभाग बढाउने अभियान अन्तर्गत पानीको सतह बढाए पश्चात् तालले आफ्नो आकार आफै लिने उहाँको भनाई छ । पछिल्लो समयमा तालको किनार क्षेत्रमा भवन निर्माण देखि पर्खाल निर्माण समेत गरेकोले त्यस्तो अवस्थामा पानीले आफ्नो आकार लिन नसक्ने अवस्था रहेको प्रमुख शर्माले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button