तपाईँ सुन्दै हुनुहुन्छः

सम्झौता नभएको विषयमा गलत प्रचार गरेकोमा उद्योग मन्त्रालयको आपत्ति

काठमाडौँ । होटल सङ्घले सहमति नै नभएको विषयमा प्रचार गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपत्ति जनाएको छ । 

एक प्रेस विज्ञप्ति जारी गरेको सङ्घले होटल तथा रेष्टुरेण्टलाई सरकारले अनुगमन नगर्ने कुरा उल्लेख गरेको थियो । तर यस विषयमा सहमति नभएको र सञ्चारमाध्यमले सङ्घको विज्ञप्तिलाई आधार मान्दै समाचार प्रकाशन प्रकाशन गरेको प्रति मन्त्रालयले आपत्ति जनाएको छ । 

मन्त्रालयका अनुसार ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज ७ गते गरेको बजार अनुगमनका क्रममा १ होटल व्यवसायीले नियम विपरीत अत्यधिक मूल्यमा पानी बिक्री गरेको भेटिएपछि तीन लाख जरिवाना हुनेगरि कारबाही गर्‍यो । त्यसपछि होटल व्यवसायीहरुसंग मन्त्रालयमा भएको छलफलमा बोतलको पानी एमआरपी मूल्यमा उपलब्ध गराउने, होटल तथा रेष्टुरेण्टहरुले चाडपर्वका बेला खाद्य सामग्रीमा विशेष छुट दिने र राजमार्ग क्षेत्रका होटलमा गुणस्तरीय खाद्य सामग्री बिक्री गर्नमा व्यवसायीका सङ्गठनले समेत सहजीकरण गर्न छलफल भएको हो । तर सङ्घले होटल तथा रेष्टुरेण्टमा सरकारले अनुगमन नगर्ने भन्दै विज्ञप्ति जारी गर्‍यो । यसमा मन्त्रालयको आपत्ति छ ।’

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका निजी सचिव सुमन धितालले एक प्रेस विज्ञप्ति जारी गर्दै होटल सङ्घको भ्रामक विज्ञप्ति र सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button