तपाईँ सुन्दै हुनुहुन्छः

“मानव सूचकाङ्कमा सुधारका लागि बाल विवाह न्यूनीकरण आवश्यक”

जनकपुरधाम । मानव सूचकाङ्कको दृष्टिकोणले देशमै पछि परेको मधेश प्रदेशका जिल्लाहरूमा बढ्दो बालविवाह नियन्त्रण नभएको खण्डमा मानव सूचकाङ्कमा सुधार गर्न कठिन हुने विज्ञहरूले बताउनुभएको छ ।

राष्ट्रिय वाल अधिकार परिषद्को आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा जनकपुरधाममा आज बालविवाह न्यूनीकरणसम्बन्धि संवादमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले वाल विवाह न्यूनीकरण गर्न प्रदेश सरकारले बालबालिका संरक्षण ऐन ल्याउनुका साथै चालु आर्थिक वर्षमा बालबालिकाको हितका लागि विभिन्न कार्यक्रमहरू ल्याएको बताउनुभयो ।

उहाँले मधेश प्रदेशमा छोरालाई चाँडो कमाउनका लागि पासपोर्ट बनाएर परदेश पठाउने तथा छोरीलाई चाँडो विवाह गर्ने अभिभावकको सोचमा परिवर्तन ल्याउन सबै तहका सरकारले एकीकृत रुपमा काम गर्न सके मात्र बालविवाह न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह न्यूनीकरणका लागि उपमहानगरपालिका काम गर्न तयार भएको बताउँदै उपमहानगरपालिकामा बालविवाह निकै कम भएको बताउनुभयो ।

केन्द्रीय बालअधिकार परिषद्का पूर्व अध्यक्ष डिल्लीराम गिरीले बालविवाहमा कमी नआएसम्म मधेश प्रदेशको मानव सूचकाङ्कमा सुधार गर्न कठिन हुने बताउँदै मधेश प्रदेशको मानव सूचकाङ्क नसुध्रेसम्म देशमा समग्र सूचकाङ्कमा सुधार गर्न कठिन हुने बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, परिषद्का प्रशासन प्रमुख राम बहादुर चन्द, सेभ द चिल्ड्रेनका मक्कर बहादुर सार्की सहितका वक्ताहरूले बालविवाह न्यूनीकरण सबै निकाय हातो मालो गरेर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button