तपाईँ सुन्दै हुनुहुन्छः

बागमती तथा लालवकैयाकाे तटबन्ध कटानबाट गौर डुबानमा

गौर । लगातारको वर्षाले बागमती तथा लालबकैयामा अत्यधिक बाढी आएका रौतहट जिल्लाका सदरमुकाम गौरसहित आधा दर्जन पालिकाका दुई हजार घर डुबानमा परेका छन् । बागमती तथा लालबकैयामा आधा दर्जन ठाउँमा बाँध कटान हुँदा सो अवस्था आएको प्रहरीले जनाएको हो ।

गए राति बागमती नदिमा आएको भीषण बाढीले रौतहट जिल्लाको गढी माई, धरमपुर, राजदेवी नगरपालिकाको कडबन्ना सहितको ३ ठाउँमा आज बिहान तटबन्ध कटान गर्दा सदरमुकाम गौरमा पानी प्रवेश गरेपछि १ हजार २ सय ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।

यसैगरि लालवकैयामा आएको भीषण बाढीले राजपुर, मौलापुर तथा कटहरीयामा तटबन्ध कटान गर्दा पनि सदरमुकाम गौरसहित जिल्लाका अन्य पालिकाहरूमा पानी प्रवेश गरेपछि दुई हजार भन्दा बढी घर डुबानमा परेको स्थानीय पत्रकार प्रभात कुमार झाले जानकारी दिनुभयो ।

बागमती तथा लालबकैयाको तटबन्ध कटान गर्दा रौतहटको सदरमुकाम रौरामा रहेका कार्यालयहरूमा एक फिटदेखि ३ फिटसम्म पानी जमेपछि आइतबारका सबै काम प्रभावित भए । यसका साथै नेपाल भारतको सिमानासँग जोडिएको गौर भन्सार क्षेत्रमा ४ फिटसम्म पानी जमेको कारणले आवागमन ठप्प रहेको छ ।

यसका साथै रौतहट जिल्लाका ८ नेपाल प्रहरीका कार्यालयहरू डुबानमा परेका छन् भने गौरमा रहेको महिला कारागारमा पानी पसेपछि सबै महिला कैदी बन्दीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहटको थुनुवा कक्षमा सारिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयहरूको कागजपत्रलाई सुरक्षित बनाउने प्रयास भएको पनि जानकारी दिनुभयो ।

ठूलो बाढीका कारणले रौतहटमा ३ जनाको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम गौरको बिपी चोक भन्दा दक्षिण भएका सबै सरकारी कार्यालय, व्यक्तिका घरहरूमा १ फिटदेखि ३ फिट पानी जमेपछि जोखिममा रहेका घर परिवारहरूलाई विभिन्न विद्यालय, धर्मशाला तथा मसजीदमा सारिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । विभिन्न संघ संस्थाहरूले बाढीबाट विस्थापितहरूका लागि भोजनको व्यवस्था गरेका छन् ।

यसका साथै बाढीको भेलले सदरमुकाम गौर जोड्ने विभिन्न राजमार्ग तथा सहायक मार्गहरूमा ठाउँ ठाउँमा कटान भएका कारणले सदरमुकाम सँगको अन्य क्षेत्रको सम्पर्क विच्छेद भएको छ । यसै गरि दुर्गा भगवती गाउँपालिकाका वडा नंं ३, ४ र ५ का करिब ७ सय घर डुबानमा परेका छन् ।

भारतीय पक्षले गौरसँगै जोडिएको विहारको वैरगनीय सहरलाई जोगाउन अग्लो बाँध निर्माण गरेका कारण वर्षेनी रौतहटको सदरमुकाम गौर डुबानमा पर्ने गरेको स्थानीयबासी बताउँछन् । सदरमुकाम गौर डुबानमा परेपछि स्थानीय प्रशासनको आग्रहमा भारतीय पक्षले बाँधको एउटा ढोका खोलेपछि अहिले पानी घटिरहेको प्रहरीले जनाएको छ । वर्षा रोकिएसँगै बागमती तथा लालबकैयामा पानीको सतह पनि घट्न थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button