तपाईँ सुन्दै हुनुहुन्छः

विश्व मुटु दिवस झापामा विविध कार्यक्रम गरी मनाइयो

झापा । आज विश्व मुटु दिवस झापामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘काम गरौँ, मुटु बचाऔँ’ नाराका साथ झापामा मुटु दिवस मनाइएको हो । झापाको बिर्तामोडमा बीएण्डसी अस्पताल, नेपाल हार्ट फाउण्डेशन झापा, रोटरी क्लब अफ विर्तामोड, सुरुङगा, मेचीनगरसहित सामाजिक संघ–संस्थाको सहकार्यमा बृहत् कार्यक्रम गरिएको नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभयो ।

यस अवसरमा बिर्तामोडमा विभिन्न जनचेतनामूलक नारा लेखिएका प्ले कार्डसहित प्रभात र्‍याली, साइक्लिङ, जुम्बाका साथै जनचेतनामूलक कार्यक्रम गरिएको बीएण्डसी अस्पतालका मुटु रोग विशेषज्ञ डा. केशवराज न्यौपानेले जानकारी दिनभयो ।

स्वस्थ जीवनशैली र खानपान नअपनाउँदा मुटुजन्य समस्या निम्तन सक्ने बीएण्डसी अस्पतालका सिनियर मुटुरोग विशेषज्ञ डा. उमेश यादव बताउनुहुन्छ । उहाँले धूम्रपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोग गर्नेको मुटुमा समस्या आउने भन्दै त्यस्ता कुराबाट टाढा रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवाल, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष राजेन्द्र अग्रवाल, सशस्त्र प्रहरी बलका एसएसपी राजेश उप्रेतीलगायतको उपस्थिति थियो ।

यस अवसरमा आज बीएण्डसी हस्पिटलमा मुटुको जाँचसम्बन्धी बहिरङ्ग विभाग निःशुल्क गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button