तपाईँ सुन्दै हुनुहुन्छः

सर्वदलीय बैठक सम्पन्न : विपद् प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबै दलको प्रतिबद्धता 

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपद्को समयमा सबै मिलेर प्रभावितहरूको उद्धार, राहत वितरण र पुनर्स्थापनामा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । 

विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी विगतका विपत्तिहरूमा जस्तै राजनीतिक दलहरूका साथै देशका विभिन्न सामाजिक संघ–संस्थाहरू र नागरिक समाज मिलेर अगाडि बढ्दा जस्तोसुकै जोखिमको सामना गर्न सकिने भएकाले अहिलेको बेलामा पनि आफूहरू त्यस अनुसार अगाडि बढ्न तयार रहेको बैठकमा नेताहरूले बताउनुभएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 

सर्वदलीय बैठकले जिल्ला विपद्, व्यवस्थापन समिति, जिल्ला स्थित यातायात समिति लगायतका सम्वद्ध संस्थाहरूको समन्वयमा बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्य सम्म पुर्‍याउने, अवरूद्ध सडकहरू यथासक्य छिटो सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तदारुकता पूर्वक लाग्ने लगायतका निर्णयहरू बैठकमा लिइएको पनि सञ्चारमन्त्री गुरुङले बताउनुभयो । 

यस्तै सर्वदलीय बैठकले बाढी पहिरोका कारण घरबास गुमाउनेहरूका लागि राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको व्यवस्था मिलाउने निर्णय गर्नुका साथै केही ठाउँमा अवरूद्ध विद्युत् आपूर्ति तथा सञ्चार सेवा, खानेपानी लगायतका सेवाहरूलाई सम्वद्ध पक्षले तत्काल सुचारु गर्न पहल गर्ने लगायतका निर्णयहरू गरेको छ । 

सञ्चारमन्त्री गुरुङले बाढी पहिरोका कारण आएको विपद्को अवस्थामा स्वास्थ्य क्षेत्रमा महामारी समेत आउन सक्ने सम्भावनालाई पहिले नै मध्यनजर गरी आवश्यक तयारीमा रहन स्वास्थ्य मन्त्रालय र सम्वद्ध सबै निकायलाई बैठकबाट आग्रह गरिएको बताउनुभयो । 

यस्तै सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले खोज उद्धार र राहतका कार्यक्रमलाई सरकारले अझ प्रभावकारी बनाउनुपर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो । 

माओवादी केन्द्रका नेता बस्नेतले विपद् पछिको व्यवस्थापनका लागि तीनै तहका सरकार, अन्य सरोकारवाला निकाय तथा राजनीतिक दलहरू आवश्यक समन्वयका साथ जुट्नुपर्ने र त्यसका लागि सबै तयार रहेको बताउनुभयो ।

यस्तै बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले खोलाको मापदण्डलाई मिच्न नहुने अहिलेको क्षतिले पाठ सिकाएकोले भविष्यमा भौतिक पूर्वाधार निर्माण गर्दा त्यसलाई मार्ग निर्देशका रुपमा लिनु आवश्यक रहेको र आफूले छलफलका क्रममा त्यस्तो सुझाव दिएको बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ज्ञानेन्द्रबहादुर शाहीले विपद्को वेलामा बजारमा मूल्य अनियन्त्रित रुपमा बढिरहेकाले त्यसलाई नियन्त्रण गरी जनतालाई राहत दिन सरकार सजग हुनुपर्ने आफूहरूले सुझाव दिएको बताउनुभयो । 

सर्वदलीय बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख राजनीतिक दलका प्रमुख एवं नेताहरूको उपस्थिति रहेको थियो । 

सरकारले यस अघि हिजो पनि समन्वयात्मक बैठक राखेर विपद् पछिको उद्धार राहत र व्यवस्थापनका कामलाई चुस्त बनाउने र जनतालाई राहतको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो । 

यसका लागि सबैलाई मिलेर विपद्को सामना गर्न आह्वान पनि गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button