तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । बिहीबार देखिको अविरल बर्षाका कारण काभ्रेका १ सय ३५ वडा नै प्रभावित भएका छन् । बाढीपहिरोबाट काभ्रेमा ३३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता हुनुका साथै ४२ जना घाइते भएका छन् ।

जिल्लाको धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका तथा भुम्लु गाउँपालिकामा गरी १० जना, रोशी गाउँपालिकामा ११ र तेमाल गाउँपालिकामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिपी राजमार्गमा हिजोदेखि फसेका ५ हजार जना यात्रुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको मंगलटार इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण गिरिले जानकारी दिनुभयो ।

त्यस्तै, रोशी गाउँपालिकाको नार्के बजारमा २६ घरहरू भत्किएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । सेनाको हेलिकप्टर मार्फत रोशी गाउँपालिका–९ नार्के बजारमा बाढीपहिरोमा फसेकाहरूको उद्धार कार्य जारी छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण भने विवरण आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिका वडा नं १० र ११ मा १/१ जना, बनेपा नगरपालिका वडा नं १४ मा २ जना महिला, बनेपा नगरपालिका वडा नं १० मा १ बालक, पनौती नगरपालिका वडा नं १२ मा १ जना महिला, पनौती नगरपालिका वडा नं ४ मा १ बालक, नमोबुद्ध नगरपालिका वडा नं २ मा १ बालक र १ बालिका, भुम्लु गाउँपालिका वडा नं ८ मा १ पुरुष गरी १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी वसुन्धरा खड्काले जानकारी दिनुभयो ।

त्यस्तै,रोशी गाउँपालिका वडा नं १ मा १ जना, वडा नं ३ मा ३ जना, वडा नं ४ मा एकै परिवारका ५ जना, वडा नं ९ मा २ जना र वडा नं १० का १ जना गरी १२ जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा नं १० मा पहिरोमा पुरिएर १ जना बेपत्ता रहेको मंगलटार इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण गिरिले जानकारी दिनुभयो ।

यता तेमाल गाउँपालिकामा भने पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभयो । तेमाल गाउँपालिका वडा नं २ स्थित चुखामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ भने तेमाल गाउँपालिका वडा नं ७ स्थित चापाखोरीमा पहिरोले घर पुरिएर दुई महिलाको मृत्यु भएको लामाले बताउनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा ५५ वर्षीया एकल महिला पुतली तामाङ र उनकी बहिनी तथा तेमाल गाउँपालिका वडा नं ४ मा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

काभ्रे जिल्लामा अहिले नेपाली सेनाका तीन वटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ । विपद्को जोखिममा रहेका रोशी, पनौती, तेमाल, बेथान चोकका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको छ । हेलिकोप्टरबाट ९४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोका कारण अवरुद्ध विपी राजमार्ग र अरनिको राजमार्ग सुचारु गर्ने प्रयास भइरहेको छ । यद्यपि तत्कालै राजमार्ग सुचारु हुने सम्भावना कम देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button