तपाईँ सुन्दै हुनुहुन्छः

रोशीको बाढीले १२ जनाको ज्यान लियो, सेनाको हेलिकप्टरमार्फत ४५ जनाको उद्धार 

काभ्रेपलाञ्चोक । बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोलामा आएको बाढीले १२ जनाको ज्यान लिएको छ । 

निरन्तर वर्षाका कारण विपतिमा परी घाइते भएका ४५ जनालाई नेपाली सेना र स्थानीयद्वारा उद्धार गरि उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ भने रोशी खोला अन्तर्गत बिपी राजमार्गमा हिजोदेखि फसेका ४ हजार यात्रुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको छ ।

यतिखेर रोशीमा नेपाली सेनाको टोलीले हेलिकप्टर मार्फत राहत वितरण तथा उद्धार कार्य गरिरहेको छ  । रोशी खोलाबाट ४५ जना घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको मंगलटार इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण गिरिले जानकारी दिनुभयो । रोशी खोला अन्तर्गतको बिपी राजमार्गमा हिजोदेखि फसेका ४ हजार यात्रुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको उहाँले बताउनु भयो । 

 बिपी राजमार्गको नेपालथोकदेखि कटुन्जेसम्म ठाउँठाउँमा बाढी र पहिरोले राजमार्ग बगाएको छ ।  राजमार्ग बगाए पछि आवतजावत गर्न सक्ने अवस्था नरहेको रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिनुभयो  । 

मंगलटार ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक कृष्ण गिरीले बिपी राजमार्गमा रोशी गाउँपालिका भित्र मात्र करिब ५ हजार यात्रु फसेको जानकारी दिनुभयो  । प्रहरीले बाटो नै टुटेको कारण यात्रुहरूलाई उद्धार गर्न कठिन भएको गिरीले बताउनुभयो  । 

राजमार्गमा दुई दिनदेखि उद्धारको पर्खाइमा बस्नुपरेको सप्तरीबाट काठमाडौँ आउँदै गरेकी गीता पोखरेलले बताउनुभयो । एउटा स्कुलमा दुई हजार बढी पीडित बस्नु परेको र उद्धारका लागि कुनै निकाय सम्पर्कमा नआएको उहाँले बताउनुभयो  ।  

सिडीयो बिदामा भएकाले जिल्लामा विपत्  व्यवस्थापनको  बैठक बस्न सकिरहेको छैन । दुई महिना देखि काभ्रेका सिडीयो सूर्य सेडाई बिदामा हुनुहुन्छ  । उहाँ  बिदामा हुँदा गृह मन्त्रालयले अर्को सिडीयो पठाएको छैन । विपदमा मुख्य निर्णय गर्ने व्यक्ति नभएपछि काभ्रेमा अहिले बिपी राजमार्गमा फसेका करिब ५ हजार यात्रुहरू बेहाल अवस्थामा छन् । बिपी राजमार्गमा फसेका यात्रुहरूले दुई दिन देखि भोकभोकै बस्नु परेको गुनासो गरेका छन् ।

त्यस्तै, रोशी खोलामा आएको बाढीले नार्केको बजार नै बगाएको विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।  त्यस ठाउँमा टेलिफोन, विद्युत् अवरूद्ध हुँदा घटनाको एकिन विवरण बारे जानकारी पाउन सकिएको छैन । गोरेटो बाटो लगायत मोटरबाटो अवरुद्ध भएको छ भने मुख्य विद्युत् प्रसारण लाइन र सहायक लाइनको विद्युत् पोलहरू ढलेकाले विद्युत् आपूर्ति समेत बन्द भएको छ । साथै मोबाइल र इन्टरनेट सेवा पनि त्यस क्षेत्रमा बन्द भएको छ । बाढी पहिरोका कारण काभ्रेका १ सय ३५ वडा नै प्रभावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button