तपाईँ सुन्दै हुनुहुन्छः

बर्षातको कारण पुलमा क्षति, आवतजावतमा समस्या

भोजपुर । अविरल बर्षातका कारण आएको बाढीले क्षति पुर्‍यापछि भोजपुरको दक्षिण हतुवागढी र उदयपुरको बेलका जोडने झोलुङ्गे पुलमा आवतजावतमा समस्या भएको छ । शनिवार आएको बाढीका कारण पुल बगाएपछि स्थानीयलाई आवातजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लाको हतुवागढी गाउँपालिका वडा नम्बर ९ चुहार र उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ मैनामैनी जोडने दुधकोशी नदीमा रहेको झोलुङ्गे पुलमा अविरल बर्षाको कारण आएको बाढीले पुलको बिच भागमा रहेको करिब ३० वटा प्लेटहरू बगाई लगेकाले आवतजावत समेत बन्द भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

सो क्षेत्रमा पुल बाहेक आवतजावतको अन्य विकल्प नभएको निरीक्षक श्रेष्ठले बताउनुभयो। पुल बगाएको खबर प्राप्त भएपछि आइतबार प्रहरी चौकी हसनपुरबाट प्रहरी सहायक निरीक्षक हरि बहादुर देउजाको नेतृत्वमा प्रहरी टोलीलाई पुल रहेको क्षेत्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरी चौकी हसनपुरबाट करिब छ किलोमिटर पूर्वमा सो क्षेत्र पर्दछ । पुल बाहेक सो क्षेत्रबाट आवतजावतको कुनै विकल्प नभएपछि जिल्लाको दक्षिणी क्षेत्र आउने र जाने नागरिकलाई सास्ती भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button