तपाईँ सुन्दै हुनुहुन्छः

उखु र दूध किसानको रकम भुक्तानीको प्रक्रिया सुरु

काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि बढाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ र दूधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषद्को बैठकले दूध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो ।

मन्त्रालयका अनुसार ८ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानकै बैक खातामा रकम जाने व्यवस्था गरिएको छ । कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गत वर्षको अनुदान रकम पाउने भएका हुन ।

त्यस्तै लामो समयदेखि दूध विक्री गरे बापतको रकम पाउन नसकेका दूध किसानहरुले पनि संस्थानलाई सरकारले प्रदान गरेको ऋण मार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको नेतृत्व समालेपछि किसानले पाउनुपर्ने रकम भुक्तानीको पहल गर्नुभएको थियो । मन्त्री अधिकारीकै पहलमा सरकारले डिडिसीलाई ऋण उपलब्ध गराउने निर्णय गरेको थियो भने उखु किसानको अनुदान रकम भुक्तानीलाई पनि ताकेता गर्नुभएको थियो । मन्त्री अधिकारीले दसैँ अघिनै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दे आउनुभएको थियो । सरकारले प्रदान गरेको रकम किसानकै खातामा पुग्नुपर्नेमा पनि मन्त्री अधिकारीको जोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button