तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण जनजीवन प्रभावित

झापा । झापा लगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन, एन प्याब्सनले पनि विद्यालय बन्द गराएका छन् ।

अविरल वर्षाका कारण इलाम, पाँचथर, ताप्लेजुङ लगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन् । कतै कतै सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् ।

कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र सुनसरीको जनजीवन पनि निकै प्रभावित बनेको छ । पूर्वपश्चिम राजमार्गमा अविरल वर्षाका कारण यातायातका साधन खासै चल्न सकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँ जाने यात्रु नहुँदा यातायातका साधन थन्क्याउनु परेको यातायात व्यवसायीले बताएका छन् ।

कोशी प्रदेशका मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा, चिसाङ, सप्तकोशी लगायतका ठुला नदीमा जल सतह बढेको छ । ती नदीमा पानीको बहाव अझ बढ्न सक्ने भन्दै सतर्क रहन जल तथा मौसम विज्ञान विभाग शाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

झापाका तीन वर्षा मापन केन्द्रले २४ घण्टामा भारी वर्षा भएको देखाएको छ । केचनामा १७९.८, गौरादहमा १६२.२ , चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनि बिर्तामोडमा ११६.६ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै इलामको वर्षा मापन केन्द्रहरूमा पनि वर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कनकाई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा झापाको गौरादह, चन्द्रगढी, केचना, अनरमनी वीरता, इलाम जिल्लाको कनकाई मैनाचुली आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कनकाई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button