तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक संस्कृति संरक्षण गर्न विद्यालयमै संग्रहालय

सल्यान । व्यवहारिक शिक्षा प्रदान गर्न सल्यानको छत्रेश्वरी गाउँपालिका-५ मा रहेको कालिका आधारभुत विद्यालयले संग्रहालय (स्कुलम्युजियम) स्थापना गरिएको छ । मौलिक र परम्परागत सामाग्री लोप हुँदै गएकाले लोपोन्मुख सामग्रीहरु संकलन गरेर विद्यालयले आफ्नो क्षेत्रको लोपोन्मुख सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्न महत्वपूर्ण कदम उठाएको हो ।


विद्यार्थीलाई तथा समुदायका अन्यलाई समेत आफ्नो समुदायको इतिहास, संस्कृति, र परम्पराको ज्ञान दिनका लागि संग्राहलय बनाइएको विद्यालयका प्रधानाध्यापक बालाराम वली बताउनु भयो । ‘गाउँमा बिस्तारै हराउँदै गइरहेका परम्परागत सामग्रीहरूलाई संरक्षण गरी आगामी पुस्तालाई तिनको महत्वबारे जानकारी दिनका लागि हामीले यस्तो प्रयास गरेका हौँ’, उहाँले भन्नु भयो ।

म्युजियममा गाउँघरमा अघिल्लो पुस्ताले प्रयोग गरेका ठेटुवा बुन्ने तान, हाटबजार गर्ने भारे डोका, तुलो, भाङ्ग्रो, कोल, लिच्छीविकालिन लिपी, ढिकी, जाँतो, ठेगी, काठको जुत्ता (खराउ), घोडाको कैजा, छड्के झुलो, सुर्के थैली, बास्सा (पर्सको रुपमाप्रयोग हुने), दाह्री तथा कपाल काट्ने छुरा, लालटिन, स्याउँ, राउटेको कोसी, विस्कुन सुकाउन प्रयोग गरिने भार, चोयाको भकारी राखिएको छ । यस्तै माटो र गोबरबाट तयार गरिएको डरो (भकारी), भान्सामा प्रयोग गरिने पुराना सामग्री, महिला तथा पुरुषका पुराना भेषभुषा, चौरासी प्रकारका जडिबुटी, गेडागुडि बाट बनाइएको कोलाज, रैथाने जातका एक दलीय र दुईदलीय विरुवाको विउ संकलन, इशानी चराहरुको गुँड पनि म्युजियममा राखिएको प्रअ वलीको भनाई छ ।


संग्रहालयको स्थापनाले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यार्थीले कक्षाकोठाको पाठ्यपुस्तक बाहिरको ज्ञान प्रत्यक्ष रूपमा सिक्ने अवसर पाएका छन् भने उनीहरूलाइआफ्ना पुराना परम्पराहरूको महत्व बुझ्न मद्दत पुगेको छ । यसले गर्दा विद्यार्थीमा गर्व र पहिचानको भावना बढाउँने विश्वास गरिएको छ । पाठ्यक्रम अनुसार सामाजिक विषयमा विगतको बारे जान्न र बुझ्न विद्यार्थीलाई सजिलो भएको विद्यालयका प्रअ वलीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘विषयवस्तुको सान्दर्भीकता मिलाएर संग्राहलयमा विद्यार्थी भाइवहिनिहरु सहभागि हुन्छन् । संग्राहलयमा राखिएको लिपिको कारण कक्षा ४ र ५ का विद्यार्थीले लिच्छीवि कालिन लिपीमा आफ्नो नाम लेख्न सक्ने भएका छन् ।’


वि.सं. २०७५ सालदेखि म्युजियम निर्माणको काम कालिका आधारभुत विद्यालयले सुरुवात गरेको थियो । कालिका आधारभूत विद्यालयको यो प्रयासले स्थानीय सांस्कृतिक सम्पदालाई संरक्षण गर्न मद्दत पुर्याएको र समुदाय तथा विद्यालय बीचको सम्बन्धलाई पनि बलियो बनाएको छत्रेश्वरी गाउँपालिका ५ का वडाध्यक्ष फौद बहादुर बस्नेतले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो संग्रहालयले भावी पुस्तालाई आफ्नो इतिहास र परम्परासँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको छ । शिक्षालाई जीवन्त र समृद्ध बनाउनका लागि अरु विद्यालयहरूले पनि यस्ता प्रयासहरू अगाडि बढाउन आवश्यक छ ।’


कालिका आधारभूत विद्यालयले भविष्यमा संग्रहालयलाई अझ विस्तार गर्ने योजना बनाएको छ । यसका लागि स्थानीय तथा बाह्य स्रोतको व्यवस्थापन गर्दै अन्य लोपोन्मुख सामग्रीहरू संकलन गर्ने र संग्रहालयलाई शैक्षिक पर्यटनको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विद्यालयको निर्णय अनुसार म्युजियम अवलोकनका लागि व्यक्तिगत रुपमा ५० रुपैयाँ र संस्थागत रुपमा १०५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button