तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा विभिन्न कार्यक्रम सहित मनाइयो विश्व पर्यटन दिवस

जनकपुरधाम । ४५ औँ विश्व पर्यटन दिवस २०८१  जनकपुरधाममा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । पर्यटन दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले ऐतिहासिक महत्व बोकेको तिरहुतिया गाछीमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर पर्यटन दिवस मनाएको हो ।

“सवैका लागि पर्यटनको पहुँच योग्य विश्वव्यापी पर्यटन प्रवद्र्धन” मूल नारा सहित भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहको अगुवाइमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साहले पर्यटकहरूको आकर्षण केन्द्रको रुपमा तिरहुतिया गाछीको सरसफाई एवं सौन्दर्यीकरण गर्ने र सो क्षेत्रलाई पहिला जस्तै सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले तिरहुतियागाछीमा पहिला धेरै प्रकारका बोटबिरुवाहरू रहेकोमा पछिल्लो समय  सो क्षेत्रमा धेरै सार्वजनिक संरचनाहरु निर्माण हुँदा रुखहरू कटान भएको बताउँदै अहिले सो क्षेत्रमा सौन्दर्यीकरणका लागि ८ सय ५० विभिन्न प्रजातिका बिरुवाहरू लगाउने योजना रहेका समेत जानकारी दिनुभयो ।  

यसै बीच विश्व पर्यटन दिवसको अवसरमा पर्यटन विकास कार्यालय जनकपुरधामले प्रभातफेरि कार्यक्रम गरेको छ ।   कार्यक्रममा विभिन्न संघ संस्था, जनकपुरधाम उद्योग वाणिज्य संघ तथा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रालयका पदाधिकारीहरू सहभागी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले मधेश प्रदेशमा धार्मिक पर्यटनको व्यापक सम्भावना भएको बताउँदै प्रदेश सरकारले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी समेत रहनु भएका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, पर्यटन अभियानी अम्बु साह सहितका वक्ताहरूले मधेशमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको व्यापक सम्भावना रहेको बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button