तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकलाई स्वागत गर्दै  लुम्बिनीमा मनाइयो पर्यटन दिवस

लुम्बिनी ।  विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गर्नुभएको हो ।

जापानी नागरिक युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका पर्यटनमन्त्री न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने बताउनुभयो । उहाँले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्ने गरी योजना बनाउने जानकारी दिनुभयो । 

यस्तै कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले तीन सय ६५ दिन नै पर्यटकलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशीसँगै स्वदेशी पर्यटकलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गर्नुभयो ।

‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तनमार्फत शान्तिको प्रवर्द्धन गरौँ नारा तय गरी मनाइएको कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले बताउनुभयो ।

लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई लुम्बिनी होटल सङ्घ नेपालले तिलौराकोट, रामग्रामलगायत क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिनुभयो । उक्त कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी होटल एसोसिएसन, लुम्बिनी पर्यटन व्यवसायी सङ्घ, महामाया रिक्सा चालक सङ्घ, लुम्बिनी स्थानीय पथप्रदर्शक सङ्घ, लुम्बिनी अन्तर्राष्ट्रिय विहारहरूको सहभागिता रहेको थियो । 

लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरिक र बाह्य गरी छ लाख १२ हजार चार सय ७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष करिब १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यस वर्षको याममा सुरु भएकाले पर्यटक सङ्ख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button