तपाईँ सुन्दै हुनुहुन्छः

बेरुतमा गार्ड्सका जनरलको हत्या गरेकामा इजरायललाई जवाफ दिने इरानको प्रतिज्ञा

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहसँगै मारिएका एक वरिष्ठ इरानी जनरलको मृत्यु ‘अनुत्तरित नरहने’ बताउनुभएको छ । 

अराघचीको उक्त टिप्पणी लेबनानको राजधानी बेरुतमा इरान समर्थित हिजबुल्लाहको गढमा शुक्रबार भएको आक्रमणको दुई दिनपछि आएको हो । आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड्सका विदेशी अपरेसन शाखा कुद्स फोर्सका शीर्ष कमान्डर जनरल अब्बास निलफोरौशान मारिएका थिए ।

“आक्रमणकारी यहुदीवादी शासनको यो भयानक अपराध अनुत्तरित रहनेछैन”, विदेश मन्त्रालयको वक्तव्यअनुसार अराघचीले भन्नुभयो, “कूटनीतिक संयन्त्रले अपराधीहरू र उनीहरूका समर्थकहरूलाई खोज्न आफ्ना सबै राजनीतिक, कूटनीति, कानूनी र अन्तर्राष्ट्रिय क्षमताहरू प्रयोग गर्नेछ ।”

इरानी अधिकारीहरूले हिजबुल्लाह प्रमुख नसरल्लाहको हत्याको कडा निन्दा गरेका छन् । नसरल्लाहको शक्तिशाली लेबनानी आन्दोलनलाई वर्षौँदेखि इरानले हतियार र आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

मुलुकको आधिकारिक समाचार एजेन्सी आइआरएनएका अनुसार इरानका रणनीतिक मामिलाका उपाध्यक्ष जवाद जरिफले भन्नुभयो, “उपयुक्त समयमा र इरानको रोजाइमा प्रतिक्रिया दिइनेछ र निर्णय निश्चित रूपमा नेतृत्वस्तरमा र राज्यको उच्चतम तहमा लिइनेछ ।” 

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नसरल्लाहको ‘सहादत’ का लागि समवेदना व्यक्त गर्नुभएको छ र पाँच दिनको सार्वजनिक शोक घोषणा गर्नुभएको छ । राज्यका सबै मामिलामा खामेनीको अन्तिम अधिकार हुन्छ ।

इरानीहरू आइतबार मुलुकभरका धेरै सहरमा गार्ड्सका निलफोरौशान र हिजबुल्लाहका नसरल्लाहको हत्याप्रति रोष प्रकट गर्न सडकमा उत्रिएका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button