तपाईँ सुन्दै हुनुहुन्छः

‘स्वस्थ जीवनशैली अपनाउने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ’

नेपालगञ्ज । मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा मुटु रोगबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् । नेपाल चिकित्सक संघ भेरी शाखा नेपालगञ्जले विश्व मुटु दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले स्वस्थ जीवनशैली अपनाउने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताएका हुन् ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा। कृष्ण अधिकारीले खासगरी उच्च रक्तचाप, मधुमेह लगायतका समस्यालाई नियन्त्रणमा राख्न सके मुटु रोगबाट निम्तने खतरा टर्न सक्ने बताउनुभयो । उहाँले विश्व मुटु दिवस मनाउने भनेकै मुटु रोग के हो रु र, कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउनका निमित्त भएकाले यस्ता कार्यक्रमको उपयोगिता रहेको बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले मुटु रोगी भई उपचारका लागि अस्पतालसम्म पुग्नु भन्दा सचेत भई रोग लाग्नै नदिन स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो । यस्तै भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। विकास नेपालले विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु रोगकै कारण हुने गरेको र करोडौँ मानिस यसबाट पीडित भइरहेको भन्दै यसको हानिबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुको विकल्प नभएको बताउनुभयो । मुटु रोगबाट बच्नलाई उच्च रक्तचाप नियन्त्रण गर्न, धुमपानको आदत त्याग्न, तौल घटाउन, मुटु स्वस्थ बनाउन रातो मासु नखान, थोरै नुन खान, खाना र पेयमा राखिने चिनीको मात्रा घटाउन र तनावमुक्त भई सक्रिय रहन डा। नेपालले सबैमा आग्रह गर्नुभयो ।

यस्तै भेरी अस्पतालका सूचना अधिकारी डा। सङ्केत रिसालले जनमानसमा जनचेतना जगाई मुटु रोगबाट निम्तिने खतरा टार्न यस खालका कार्यक्रमलाई व्यापकता दिन आग्रह गर्नुभयो । संघका अध्यक्ष डा। बिनोद थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू, औषधि कम्पनीका बजार प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

कार्यक्रमका सहभागीहरूले सङ्घको कार्यालयबाट गणेशमान चोकसम्म विभिन्न जनचेतनामूलक सन्देशसहितका प्लेकार्डका साथ र्‍याली निकालेका थिए । यस्तै दिवसकै अवसरमा नेपालगञ्ज मेडिकल कलेजले पनि र्‍याली निकालेको थियो ।

हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्वभर नै विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाउने गरिन्छ । यो वर्ष ‘युज हर्ट फर एक्सन’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button