तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश: विपद्का २९ घटना, १०९ जनाभन्दा बढी बाढी र पहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेका छन् ।

पहिरो, अधिक वर्षा, डुबानलगायतका २९ वटा घटना घटेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो । असोज ११ गतेदेखि १३ गतेसम्म एक जनाको मृत्यु भएको छ ।

बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने घाइते ३ जना भएका छन् । गुल्मीमा दुई जना र बाँकेमा एक जना घाइते भएको र नवलपरासी बर्दघाट सुस्ताका एक जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षति भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षति भएको छ । एउटा सरकारी भवन पूर्ण क्षति भएको छ भने ३ वटा भवनमा आंशिक क्षति भएको छ । घरहरूमा क्षति हुँदा ९० लाख ९० हजार क्षति भएको प्रारम्भिक विवरण सङ्कलन भएको छ । यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी, पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको र पुनर्स्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपिल गर्नुभएको थियो । सोही बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत समुदायका नागरिक बीचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको छ।

प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरूलाई राहत, पुनर्स्थापनाको काम पनि अघि बढाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button