तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताउनुभएको छ ।

एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उहाँले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राख्नुभयो । उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्ती बस्तीसम्म लैजान आवश्यक रहेको उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिनुभयो । यसैगरी उहाँले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली काङ्ग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गर्नुभयो । “संविधान जारी भएको १० वर्षका सबल र दुर्बल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भन्नुभयो, ।

उहाँले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो । “पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताउनुभयो । यसले मुलुक सङ्कटबाट मुक्त नभए पनि सुधारका सङ्केत देखिएको उहाँको भनाइ थियो ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष टुक्काभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button