तपाईँ सुन्दै हुनुहुन्छः

स्याउ बिक्रि गरेरै करोडभन्दा बढी आम्दानी

बाजुरा । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेरै एक करोडभन्दा बढी रुपैयाँ आम्दानी गरेका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकामा रहेका दुई हजार चार सय घरपरिवारमध्ये एक हजार आठ सय घरपरिवारले यो वर्ष स्याउ बिक्री गरेर गाउँमै एक करोडभन्दा बढी आम्दानी गरेका हुन् ।
गत वर्षभन्दा यो वर्ष स्याउ समयमै बिक्री भएपछि घरमै राम्रो कमाइ भएको स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ कृषक उत्तम शाहीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्ष स्याउ आफैँले बजारमा लिएर बिक्री गर्नु परेको थियो । यो वर्ष भने व्यापारी बारीमै आएर सबै स्याउ उठाएपछि घरमै राम्रो कमाइ भएको हो । यो वर्ष बारीमा उत्पादन भएको झन्डै ८० प्रतिशत स्याउ बिक्री भइसक्यो । अब २० प्रतिशत स्याउ बाँकी छ, त्यो स्याउ सेलार स्टोरमा जम्मा गरेका छौँ, यो स्याउ पनि केही दिनपछि सबै बिक्री हुन्छ उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

यसअघि गाउँमा स्याउ प्रशस्त फल्ने गरेको भए पनि त्यसले समयमै बजार नपाउँदा स्थानीयले गाईगोरुलाई खुवाउने गरेको गुनासो थियो। पछिल्लो समय यहाँ उत्पादन हुने गरेको स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बजारीकरणका लागि सहजीकरण गरिदिएपछि यहाँका किसानले उत्पादन गरेको अर्ग्यानिक स्याउ समयमै बजारमा बिक्री हुन थालेको हो ।

केही दिन पहिला कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्ग्यानिक स्याउ सडक सञ्चालन नभएपछि ठेकेदारले कर्णाली कोरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएका हुन् । गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा लगिएको थियो । यस वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएकाले कर्णाली कोरिडोरबाट कैलाली, नेपालगन्ज र काठमाडौँ लगिएको छ । यहाँ स्थानीय डेलिसिएस, रोयल, रेड डेलिसियस, गोल्डेन, गाला, फुजीलगायतका स्याउ उत्पादन हुने गरेको छ ।

गत वर्ष स्याउबाट घाटा बेहोर्दै आएका यहाँका किसानले अहिले एक करोडभन्दा बढी रुपियाँ घरको दैलामै बुझेको स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button