राजर्षि जनक विश्वविद्यालयको स्ववियूमा लोविसंघ सभापति निर्वाचित
जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघका प्रवेश यादव सभापतिमा निर्वाचित भएका छन् ।
२०७४ सालमा विश्वविद्यालयको स्थापना भएपश्चात् पहिलोपटक भएको स्ववियु निर्वाचन भएपछि लोकतान्त्रिक विद्यार्थी संघका यादव सभापतिमा निर्वाचित हुनु भएको हो । लोकतान्त्रिक विद्यार्थी संघ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी सङ्गठन हो । बिहीबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा शुक्रवार बिहान आएको हो ।
लोकतान्त्रिक विद्यार्थी संघका यादव १२० मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संयुक्त विद्यार्थी प्यानलका श्याम साहले १११ मत प्राप्त गरेका हुन् । सचिवमा अनेरास्ववियुका राजु अधिकारी ११० मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका सुभाषचन्द्र यादवले १०४ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का शिवशङ्कर महतो निर्वाचित भएका छन् भने महतोले ११९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी सङ्घकी वर्षाकुमारी साहले ९६ मत प्राप्त गरेका हुन् । सदस्यहरूमा लोकतान्त्रिक विद्यार्थी संघका रामकुमार महासेठ, प्रीतिकुमार कुर्मी, पूजा यादव, संयुक्त विद्यार्थी प्यानलकी सृष्टिकुमारी चौधरी, नेविसंघकी ज्योति दत्त र लोकतान्त्रिक विद्यार्थी सङ्घकी र रञ्जना पासवान निर्वाचित भएका छन् ।
विश्व विद्यालयमा ४७५ जना मतदाता रहेकोमा ४४४ जनाले मतदान गरेका थिए । त्यस्तै समानुपातिकतर्फ लोकतान्त्रिक विद्यार्थी सङ्घले ९६, अनेरास्ववियुले ७६, संयुक्त विद्यार्थी प्यानलले १०५, विद्यार्थी जनमत सङ्घले ६२ र नेविसंघले ९९ मत ल्याएको छ ।
समानुपातिकतर्फ ६ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ । २०७४ साल असोज १२ गते स्थापना भएको राजर्षि विश्वविद्यालय २०७५ देखि सञ्चालनमा आएको थियो । यो विश्वविद्यालयमा विज्ञान, मानविकी, कानून, वाणिज्य तथा विभिन्न प्राविधिक गरी नौवटा विषय अध्यापन भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्