तपाईँ सुन्दै हुनुहुन्छः

१७ औँ उपत्यकाव्यापी अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । १७ औँ उपत्यका व्यापी अन्तर विद्यालय कविता प्रतियोगितामा युनाइटेड एकेडेमी, इमाडोल प्रथम भएको छ ।

भ्याली भ्यु स्कुल काठमाडौँले आयोजना गरेको सो प्रतियोगितामा युनाइटेड एकेडेमीकी छात्रा आराध्या पराजुलीले प्रथम स्थान हासिल गरेकी हुन् ।

कविता प्रतियोगितामा द्धित्तीय पुरस्कार श्री कान्ति भैरव गुरुकुल स्कुल गोकर्णेश्वरका पुसप खरेल, तृतीय पुरस्कार पाठशाला फाउन्डेसन नेपाल बागडोलका समिरन चालिसे र चतुर्थ पुरस्कार डियरवाक स्कुल सिफलका अनुश्री आचार्यले प्राप्त गरिन् ।

कविता प्रतियोगिताको निर्णायकमा भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छु, वरिष्ठ कवि डा. मधुसुदन लामिछाने र कवयित्री गीता कार्की रहनुभएको थियो ।

प्रतियोगितामा यस वर्ष उपत्यकाभरिका २७ विद्यालयका कक्षा १० सम्मका ४० जना विद्यार्थीले भाग लिएका भ्याली भ्यु स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष चापागाईँले जानकारी दिनुभयो ।

पुरस्कृत हुने विद्यार्थीलाई शिल्ड, खादा, सम्मानपत्र र नगदसहित सम्मान गरिएको संयोजक चापागाईँले बताउनुभयो ।

भानु जयन्तीका अवसरमा आयोजित सो कार्यक्रमले विद्यार्थीको साहित्यिक प्रतिभालाई उजागर गर्न मदत पुग्ने भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाष चन्द्र भण्डारीले बताउनुभयो ।

विद्यालयको आन्तरिक तर्फ कक्षागत कविता प्रतियोगिता, साँस्कृतिक कार्यक्रम र उपत्यकाभरिका २७ स्कुलका विद्यार्थी सम्मिलित उपत्यका व्यापी कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक, साहित्यकार एवं भाषासेवी डा. वासुदेव त्रिपाठीलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो ।

भ्याली भ्यु स्कुलले यस किसिमको कार्यक्रम विगत १७ वर्षदेखि निरन्तर गर्दै आएको र यस्ता सृजनशील क्रियाकलापले विद्यार्थीको क्षमता विकासमा निकै टेवा पुगेको संयोजक चापागाईँले बताउनुभयो ।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साल, महासचिव डा. रमेश शुभेच्छु, वरिष्ठ वाल साहित्यकार गोपाल पराजुली रेडियो नेपालका पत्रकार रमेश टमट्टा लगायत व्यक्तित्व सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button