तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक : विनियोजन विधेयक २०८१ माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि छलफल जारी रहेकाे छ । आज सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल भएको छ ।

विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले देशका सबै भागमा आवश्यकता र औचित्यका आधारमा बजेट विनियोजन गर्नुपर्ने, जनतामा रहेको निराशाको अन्त्य गरी विकास निर्माणको काम जोड दिनुपर्ने बताउनुभयो ।

सांसदहरूले शहरी विकास मन्त्रालय अन्तर्गतको बजेट गरिब तथा सिमान्तकृत समुदायको उत्थान र स्थायी बसोबासको व्यवस्थापनमा जोड दिन, शहरी क्षेत्रको वातावरण संरक्षणका लागि वरपरको क्षेत्रमा वनजंगल विकास गर्नुपर्ने, कृषियोग्य जमिनको संरक्षण गर्नुपर्ने, शहरी क्षेत्रभित्र पर्ने नदी तथा खोलाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले नीति तथा कार्यक्रम र पूर्व बजेटमा पर्याप्त छलफल गरी त्यसको कार्यान्वयन हुने गरी बजेट ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले नेपाली सेनाको आधुनिकीकरण तथा पेशागत क्षमता विकास गर्ने, सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार र सुरक्षामा सरकारको ध्यान जानुपर्ने, नेपाली सेनाबाट भइरहेका पूर्वाधार विकासका काम समयमा नै सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले न्याय प्रणालीलाई जनताको अपेक्षा अनुरुप छिटो, छरितो र विश्वसनीय बनाउन र न्यायमा सबैको पहुँच सुनिश्चित गर्न ध्यान दिनुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा राज्यले विशेष व्यवस्था गर्नुपर्ने लगायतका विषयमा जोड दिनुभयो ।

यस अघि प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै सांसदहरूले स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न, मनसुनका समयमा हुन सक्ने क्षति न्युनिकरणका लागि पर्याप्त पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्न र विमानस्थल सञ्चालनका लागि आवश्यक रकम छुट्ट्याउन सरकारसँग माग गर्नुभयो ।

सांसदहरुले देशका सरकारी अस्पतालहरूमा साना वा ठूला रोगको उपचारका लागि लामो समय कुर्नुपर्ने समस्या रहेको भन्दै त्यसको समाधान गर्न तथा अस्पतालहरूमा दक्ष जनशक्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मनसुन सुरु भएपछि बाढी पहिरोले बढी क्षति हुने जिल्ला तथा क्षेत्रहरूको पहिचान गरी क्षति न्युनिकरणका लागि प्रभावकारी योजना बनाएर काम गर्न समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button