तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो भूभागमा आक्रमण गरे प्रत्यक्ष आक्रमण गर्ने इरानलाई इजराइलको धम्की

जेरुसेलम । इजराइलका विदेश मन्त्रीले बुधबार इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिनुभएको छ । 

सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ । 

विदेश मन्त्री इजराइल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको छ, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्‍यो भने इजराइलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजराइलविरुद्ध जवाफी कारबाही गर्ने वाचा दोहोर्‍याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो । 

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिएको छ । इजराइलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । 

यद्यपि इजराइलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ । यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो । 

खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताउनुभयो । इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उहाँले भन्नुभयो, “उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।”

काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारबाही गर्ने भन्नेबारे विस्तारमा बताउनुभएको छैन । अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए । 

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजराइलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गर्नुभयो । “उनीहरूले यो प्रकोपमा इजराइललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्”, उहाँले भन्नुभयो । 

इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजराइल विरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजराइललाई मान्यता दिँदैन ।रासस/एपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button