तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आर्मीको जीत

बारा  । बीरगञ्ज युनाईटेड क्लबविरुद्ध सङ्घर्षपूर्ण जित निकाल्दै त्रिभुवन आर्मी क्लब शनिवारबाट शुरु भएको जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज सुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरियो । बीरगञ्जका लागि फागुराम चौधरीले पेनाल्टीमार्फत खेलको ४१ औँ मिनटमा अग्रता बनाएका थिए । 

आर्मीका डिफेण्डर सुरज बस्नेतले वीरगञ्जका फागुरामलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री उमेश विंडारीले बीरगञ्जलाई पेनाल्टीको मौका दिएका थिए । आर्मीका कमल थापाले पहिलो हाफमै बराबरी गोल फर्काउँदै आर्मीका समर्थकलाई खुशीपारे ।  

खेलको ४४ औँ मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए । दोस्रो हाफमा बीरगञ्ज विरुद्ध आर्मीले सुरुवाती अग्रता लियो । 

खेलको ६१ औँ मिनटमा आकर्षक फ्रि किक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टिमलाई अग्रता दिलाएका थिए । करिब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्रि किकलाई बीरगञ्जका गोल रक्षक प्रमिजय गच्छदारले बचाउने कुनै अवसर पाएनन् । सुरुवाती अग्रता उल्टिएपछि आक्रामक बनेको बीरगञ्जका लागि फागुराम चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याए पनि जीतका लागि पर्याप्त बन्न सकेन । 

खेलको ८२ औँ मिनटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउण्टर अट्याकमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । 

बीरगञ्जका डिफेण्डरहरुको गल्तीको सदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दी म्याच आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार सहित ट्रफी प्राप्त गरे । 

यसअघि सिमरा रङ्गशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा एन्फा महासचिव किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो  । आयोजक क्लबले उद्घाटन समारोहका अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका भित्रबाट फुटबलको विकासमा योगदान पुर्‍याएका खेलाडीसहित १७ जनालाई विशेष सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button