तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मातृ तथा नवजात शिशु मृत्युदर उच्च 

नेपालगञ्ज । बाँकेमा मातृ तथा नवजात शिशु मृत्युदर उच्च रहेको छ । 

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये बाँकेमा मातृ तथा नवजात शिशु मृत्युदर सबैभन्दा बढी छ । बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन सकेको छैन ।

बिना कनोजियाको घर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा छ । उहाँको घरदेखि भेरी अस्पताल करिब ५ सय मिटरको दूरीमा छ भने त्यसकै हाराहारीमा नेपालगञ्ज मेडिकल कलेज छ । तर, घर छिउँकै छिमेकी दुई गर्भवतीका ६÷७ महिनाका शिशु खेर गए । यो त प्रतिनिधिमूलक उदाहरण मात्रै हो । सहर बजारमै नवजात र मातृ शिशु मृत्युदर उच्च छ ।

चालू आर्थिक वर्षको फागुनसम्ममा मात्रै १०६ जना शिशुको मृत्यु भइसकेको छ । सबैभन्दा बढी नेपालगञ्जमा ६५ र कोहलपुरमा ३४ जनाको मृत्यु भएको छ । यसैगरी यो अवधिमा ११ जना आमाको मृत्यु भएको छ । सबैभन्दा बढी नेपालगञ्जका ६ जना छन् । गत आर्थिक वर्षमा १४२ जना नवजात शिशु तथा ४०६ जना आमाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

बाँकेमा मिश्रित समुदायको बसोबास छ । खासगरी मधेशी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जनचेतनाको अभाव, नियमित गर्भ चेकजाँच लगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय बाँकेका आमा सुरक्षा कार्यक्रमका फोकल पर्सन विष्णु श्रेष्ठ बताउनुहुन्छ ।

बढ्दो नवजात शिशु तथा आमा मृत्यु दर न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । तर, बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घट्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button