तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा पौने दुई लाख बाल श्रमिक

जनकपुरधाम । मधेशका प्रदेशमा बाल श्रमिकको सङ्ख्या अत्यधिक मात्रामा रहेको पाइएको छ । मधेश प्रदेशका जिल्लाहरूमा बाल श्रमिकको सङ्ख्या १ लाख ७२ हजार रहेको छ ।

आसमान नेपालले आज जनकपुरधाममा आयोजना गरेको बालश्रमका लागि सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कूल बाल श्रमिकमध्ये ५ वर्षदेखि १३ वर्ष मुनिका बाल श्रमिकको सङ्ख्या १ लाख २७ हजार रहेको आसमान नेपालका बालश्रम हेर्ने शाखाका प्रमुख दिपेन्द्र तिवारीले जानकारी दिनुभयो ।

१७ वर्ष मुनिका बाल श्रमिकको सङ्ख्या ४५ हजार रहेको छ । अधिकांश बाल श्रमिक कृषि, घरेलु, सार्वजनिक यातायात, निर्माण कार्य, बालुवा गिट्टी तथा साना होटलमा कार्यरत रहेका छन् । मधेश प्रदेशका जिल्लामा गरिबी, अशिक्षा, पारिवारिक कलह, अभिभावक ऋणमा डुब्नु, जग्गा विहिन हुनु, धेरै बच्चा हुनु, बालविवाह हुनु, अभिभावक विहीन हुनु, जन्म दर्ता नहुनु जस्ता कारणले बालबालिकाहरू श्रम गर्न बाध्य हुनुपरेको आसमानले ३ सय ६४ बाल श्रमिकसँग गरेको परामर्श बैठकबाट खुलेको छ ।

बाल श्रमिक मध्ये ८८ हजार बालक र ८५ हजार बालिका रहेका छन् । बाल श्रमिक मध्ये ५० हजार ९ सय उच्च जोखिम क्षेत्रमा कार्यरत छन् । कूल बाल श्रमिक मध्ये ९.८ प्रतिशत ग्रामीण क्षेत्रमा र १२.४४ प्रतिशत शहरी क्षेत्रमा रहेको आसमान नेपालले जनाएको छ ।

नेपाल सरकारले बालश्रम रोक्नका लागि विद्यालयमा बालबालिकालाई भर्नाका लागि प्रोत्साहन गर्ने, दिवा खाजा दिने, निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने, दलित तथा विपन्नलाई पोषण भत्ता प्रदान गर्ने, छात्रवृत्ति दिने जस्ता कार्यक्रम गर्दै आएको छ । नेपालमा मधेश प्रदेश, कर्णाली तथा सुदूर पश्चिममा बाल श्रमिकको सङ्ख्या अधिक रहेको आसमान नेपालका कार्यकारी निर्देशक नवल किशोर यादवले जानकारी दिनुभयो ।

प्रदेश सरकारले पनि बालश्रम नियन्त्रणका लागि बालअधिकार ऐन प्रदेश सभामा पेश गरेको छ भने बालअधिकार ऐन २०७७ निर्माण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button