एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन : एमाले अध्यक्ष ओली
वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, सुशासन र समृद्ध नेपालका लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
नेकपा एमाले पर्साद्वारा आज पोखरियामा आयोजित बृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशमा बढिरहेको बेथिति र अराजकता रोक्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रियता, विकास, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माण, सामाजिक सद्भावबाटै समृद्ध नेपाल र सुखी नेपाली हुन सक्ने बताउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नभएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले भगवान् रामको जन्मभूमि ठोरी भएको दाबी गर्दै १ सय ५० वर्षअघि भारतको फैजावाद रहेको ठाउँलाई अहिले अयोध्या बनाइएको दाबी गर्दै खास राम जन्मेको स्थान ठोरीसँगै जोडिएको माडीको अयोध्यापुरी भएको बताउनुभयो ।
उहाँले आगामी मङ्सिर १४ गतेबाट नेकपा एमालेले मेची–महाकाली जागरण र सङ्कल्प अभियान चलाउन लागेको जानकारी दिँदै एमालेलाई २०८४ को निर्वाचनमा कसैले हराउने नसक्ने गरी मिशन ८४ सुरु गरिएको दाबी गर्नुभयो ।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उप प्रधानमन्त्री नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, नेकपा एमालेका सचिव एवम् मधेश विभाग प्रमुख योगेश भट्टराई, पार्टीका पोलिटव्यूरो सदस्य अच्युत मैनाली, सुशील प्याकुरेल, केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री ज्वाला शाह, पुरुषोत्तम पौडेल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य एवम् पूर्व सांसद हरिनारायण रौनियार, विना वैठा, मुन्नी श्रीवास्तव, शोभा वैठा, राजेश चौहानसहित जसपा, काँग्रेस, माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्ने सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्