दोलखा नाकाबाट सुन तस्करी: आलु र पिठोको बोरामा सुन र डलर आदानप्रदान
दोलखा । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक नाकाबाट अवैध सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले आवश्यक अनुसन्धान पछि मङ्गलवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी दोलखाको लामाबगर नाकाबाट झण्डै एक वर्षको अवधिमा विभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको जनाएको छ । तस्करहरूले विशेषगरी बालबालिकाको प्रयोग मार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायात मार्फत नै तस्करीको सुन काठमाडौँसम्म पुर्याउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।
तस्करहरूले लामाबगरको फलाक नाकाबाट डोरीले सुनको बोरामा बाधेर चीनको तिब्बतबाट नेपालतर्फ पठाउने र नेपाल तर्फबाट त्यसैगरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको विना लगायत पठाउने गरेको तथ्य समेत भेटिएको प्रहरीले जनाएको छ । तस्करी समूहका कतिपय एक अर्कोमा परिचित नभएको समेत पाइएको प्रहरीको भनाई छ ।
गत असोज १० गते समेत विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलिले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरूबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।
त्यसरी अवैध सुन बरामद भएपछि ‘अवैध सुन पैठारी र सङ्गठित अपराध निवारण ऐन २०७०’ अन्तर्गतको कसुर शीर्षकमा मुद्दा दर्ता गरी नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी अधिकृतहरूको समेत संलग्नतामा जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभयो । पक्राउ परेकाहरू बाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।
उनीहरूले २०७९ साल मङ्सिर देखी २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।
सुन तस्करी आरोपमा पक्राउ परेका चिनिया तथा नेपालीहरूले अन्तरदेशीय आपराधिक सङ्गठन सञ्जाल खडा गरी क्रिप्टो करेन्सी (युएसडिटी) तथा विभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोबार गर्ने गरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताउनु भयो । यो अवधिमा उनीहरूले विभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार ५९३ रुपैयाँ बराबरको युनिट युएसडिटीको कारोबार गरेको देखिएको पनि सिआईवीका प्रहरी निरीक्षक पाठकले बताउनु भयो ।
प्रहरीले अहिलेसम्म तस्करी समूहका चिनिया नागरिक आकर लामा र ग्याङ रु तथा नेपालीहरू नुर्बु छिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तामाङ (सिन्धुपाल्चोक), तिलक बिक (बागलुङ), दीपेन्द्रराज शाक्य (ललितपुर), बिगु– १६ (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तामाङ (दोलखा) लाई पक्राउ गरेको छ ।
फरार रहेका थप १२ जना पक्राउ परेपछि पुरक अभियोग सहित जिल्ला न्यायाधीवक्ताको कार्यालय पेश गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्